Logo

बथनाह–विराटनगर कार्गो रेल सञ्चालनः सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन



विराटनगर, पुस ५। भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गो रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गोले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ ।

रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको सम्भावनाबारे स्थलगत अध्ययन गरेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर क्षत्री, सहसचिव तीर्थराज वाग्ले, सहसचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मी, शाखा अधिकृत सुसना शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवराज शर्मा, रेलवे विभागका सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकार, नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष भुजेल र इन्जिनीयर शोभाकान्त राउत सहभागी थिए ।

विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाका अनुसार शुक्रवार रेलवेको अध्ययन गरि टोली राजधानी फर्केको छ । प्राविधिकलगायत सम्भाव्यताको अध्ययनपछि कार्गो रेल आईसीपीसम्म ल्याउन अवरोध नरहेको ठहर गरी टोलीले प्रधानमन्त्री कार्यालयलाई सुझाव दिनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला दुवै देशबीच आईसीपीसम्म कार्गो रेल सञ्चालनबारे सहमति भए प्रक्रिया अघि बढ्ने बताइएको छ । त्यसका लागि पूर्वाधारसमेत तयारी अवस्थामा छ । बथनाहबाट सोझै आईसीपीसम्म कार्गो आउने अवस्था आएमा ढुवानी भाडासमेत सस्तो पर्ने र त्यसले उपभोक्तालाई समेत राहत हुने नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत कार्गो रेल सञ्चालन सम्बन्धमा अध्ययन र सहजीकरण गरेको थियो । यसका लागि सबै तहका सरकारी निकायको पहल र समन्वयसँगै प्रधानमन्त्रीको भारत भ्रमणको बेला उच्चस्तरीय छलफल गर्ने तहसम्मको तयारी थालिएको छ । उक्त अवसरमा कार्गो रेल सञ्चालनको बाटो खुलाउन पहल गर्नेगरी सरकारीस्तरमा छलफल शुरू गरिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot