Logo

मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ थप्ने योजनामा केयूकेएल



काठमाडौं, पुस ५ । मेलम्ची नआउन्जेलसम्म काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।

त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ जडान गरी एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्न लागिएको जानकारी दिए । उनले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु नभएसम्म पानीको अभाव हुन नदिन पानीको उत्पादन थप गर्न लागिएको स्पष्ट पारेका छन् ।

शाक्यका अनुसार भूमिगत स्रोतबाट दैनिक तीन करोड र सतहगत स्रोतबाट आठ करोड लिटर पानी निकाल्ने काम भइरहेका बताएका छन् । त्यसैगरी नयाँ जडान गरिएका तीनवटा बोरिङबाट ३० लाख लिटर पानी निकालिएको छ । अहिले दैनिक ११ करोड लिटर पानी उपलब्ध भए पनि उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्