Logo

नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना गर्न खोजेको प्रश्नमा आरएसएसका प्रवक्ता सुनिल अम्बेकरले भनेः नेपाली जनतालाई कम आँकलन नगर्नुहोस्



काठमाडौं, ५ पौष । भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख सुनिल अम्बेकरले आफूहरुले नेपालमा हिन्दुराष्ट्र हुनुपर्छ नभनेको बताएका छन् । काठमाडौंमा रहेका उनले परराष्ट्र मामलासम्बन्धी जानकार पत्रकारहरुसँगको अन्र्तक्रियामा आफूहरुले भारतमा समेत हिन्दुराष्ट्र हुनुपर्छ नभनेको बताएका छन् ।

‘हामीले भारतमा पनि हिन्दुराष्ट्र हुनुपर्छ भनेका छैनौं, भारत हिन्दुराष्ट्र हो भन्ने हाम्रो धारणा छ,’ आरएसएसका प्रचार प्रमुख अम्बेकरले पत्रकारको प्रश्नमा भने, ‘नेपालमा हिन्दुराष्ट्र हुनुपर्छ भनेका छैनौं । यहाँ के हुनुपर्छ भन्ने नेपालका जनताले तय गर्ने विषय हो ।’

नेपाल विगतमा हिन्दुराष्ट्र रहेको र अहिले संविधानमा उल्लेख नभएको उल्लेख गरे । आरएसएस नेपालमा हिन्दुराष्ट्र बनाउन लागेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘हामी त्यसो भनिरहेका छैनौं । नेपाल र नेपाली जनतालाई कमजोर आँकलन नगर्नुहोस् ।’

आरएसएसले प्रस्तुत गर्ने गरेको अखण्ड भारतको नक्शाबारे पत्रकारको प्रश्नमा उनले त्यसलाई भारत देशको नभई सांस्कृतिक नक्शाका रुपमा बुझ्न भने । अखण्ड भारत देश विशेष नभई एउटै संस्कृतिको नक्शा भएको तर्क गरे ।

नेपालको अयोध्यापुरी नै प्राचीन अयोध्यापुरी हो भनी राम मन्दिर बनाएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘राम जहीं तहीं हुनुहुन्छ ।’ ओलीले निर्माण गर्न लगाएको राम मन्दिरबारे उनले धर्मका ज्ञानीले बोलेमा आफूहरुले विचार गर्ने बताए । उनले भने, ‘धर्मका ज्ञानीले बोलेमा हामी विचार गर्छौं । मैंले बाल्यकाल देखि थाहापाएको अयोध्या नै हो ।’

हिन्दु र हिन्दुत्वमा खासै फरक नभएको बताए । तर, शब्दजाल गर्नेहरुले फरक शब्द राखेर भ्रम फैलाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot