Logo

एमसीसी रोक्न प्रचण्ड लागेपछि देउवा कठोर निर्णयको तयारीमा



काठमाडौं, ५ पौष । अमेरिकी सहयोग सम्बन्धी एमसीसी संसदबाट पारित हुने या नहुने चाँडै टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे सहमतिको प्रयासलाई गति दिएका छन् । तर, सत्ता गठबन्धनभित्रै एमसीसीको विपक्षमा मत बलियो भएको छ ।

एमसीसीबारे साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाउन अध्ययन समिति बनाएको छ । समितिमा काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल छन् । खनालले नेकपा छँदै अध्ययन कमिटीको संयोजक बनेर एमसीसी पारितको विपक्षमा सुझाव दिइसकेका छन् । श्रेष्ठ पनि विपक्षमा छन् । कार्की भने एमसीसीको पक्षमा छन् । उनी अर्थमन्त्री छँदा एमसीसी सम्झौता भएको थियो ।

अध्ययन समितिको बनोटले पनि एमसीसी पारित गर्नेतर्फ मतैक्यताको सम्भावना कमजोर छ । खनाल र श्रेष्ठले पनि त्यसलाई स्वीकार्ने छैनन् । यसकारण पनि एमसीसी यही गठबन्धनले पारित गर्ने सम्भावना कमजोर छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमाथि सत्ता गठबन्धत तोड्ने खेलमा लागेको आरोप लगाएका छन् । एमालेले काँग्रेसलाई एक्लै सत्ता चलाउन दिने प्रस्ताव गरेको उनको सनसनीपूर्ण भनाई बाहिर आएको छ । एमसीसी सत्ताको खेलको अस्त्र बनेर आएको छ । सत्ता गठबन्धन धरापमा परेको संकेत प्रचण्डको भनाईबाट बुझ्न सकिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग सहकार्यको सम्भावना औल्याएका छन् । उनले एमसीसीबारे गठबन्धनले धारणा सार्वजनिक गरेपछि गर्ने भनेका छन् । माओवादी र नेकपा एस एमसीसीको विपक्षमा उभिएमा एमाले काँग्रेससँग एमसीसीको पक्षमा आउनसक्ने सम्भावना छ । त्यतिबेला देशमा ठूलै राजनीतिक कम्पन आउनसक्छ । गठबन्धन नै भत्कन सक्छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसीमा त्रुटी कमजोर छन् भने सच्याएर मात्रै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले घुमाउरो तरिकाले एमसीसी पारितको विपक्षमा आफूलाई प्रस्तुत गरेका छन् । प्रचण्ड र माधव नेपालको भनाईले पनि सत्ता गठबन्धनका घटक माओवादी र नेकपा एस एमसीसीको पक्षमा आउने सम्भावना कमजोर छ । देउवासामु एमसीसी पारित गर्नुपर्ने चुनौती छ ।

सत्ता गठबन्धनबाट एमसीसी पारित गर्नेमा साथ नमिले देउवा सामु कि ब्याक हुनुपर्ने कि जर्बजस्ती अगाडि बढ्नुपर्ने चुनौती छ । उनले अगाडि बढ्न नेकपा एमालेलाई साथ लिनुपर्ने हुन्छ । त्यतिबेला गठबन्धन भत्कने देखि महाभियोगका प्रस्तावहरु पनि जानसक्छ । अब एमसीसीको विषयले देउवा अप्ठ्यारोमा परेका छन् । उनका सामु कठोर निर्णय लिएर बढ्ने या सत्ता गठबन्धन जोगाउन ब्याक हुनेबाहेक विकल्प छैन । सत्ता गठबन्धन यसकारण पनि धरापमा परेको देखिन्छ । एमसीसीका कारण देउवा कठोर निर्णयको तयारीमा बढेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्