Logo

देउवा एमसीसी पारित गरिछाड्ने पक्षमा, अब के होला ?



काठमाडौं, ६ पौष । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गरिछाड्ने दिशामा आफूलाई अगाडि बढाएका छन् । उनले त्यसका लागि आवश्यक प्रक्रियासमेत बढाएका छन् ।

देउवानिकट स्रोतका अनुसार उनी कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा छन् । एमसीसी उनी यसअघि प्रधानमन्त्री हुँदा नै सम्झौता भएकाले पारित पनि आफ्नै कार्यकालमा गर्ने देउवाको तयारी छ । यसका लागि उनले विकल्पहरुमा समेत छलफल बढाएका छन् ।

देउवाले सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई साथ दिन आग्रह गरेका छन् । अध्ययन कमिटी समेत बनाउन देउवा सहमत भएका छन् । त्यसपछि उनी अघि बढ्ने बुझिएको छ ।

एमसीसी पारित गर्न सत्ता गठबन्धनको विकल्प समेत खोज्ने गरी देउवानिकट नेताहरुले सुझाव दिन थालेको बुझिएको छ । नेकपा एमालेसँग मिलेर भएपनि एमसीसी पारित गर्नेबारे विकल्पमा छलफल बढेको विश्वस्त स्रोतले जनाएको छ । प्रचण्डले यही चाल पाएर सोमबार सनसनीपूर्ण खुलासा गरे । ओलीले गठबन्धन भत्काउन काँग्रेसलाई एक्लै सरकार चलाउन आग्रह गरेको र शर्तसहित एमसीसीमा साथ दिने प्रस्ताव गरेको प्रचण्डले खुलाएका हुन् । नेकपा एसका अध्यक्ष माधव नेपालले पनि एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने धारणा दोहोराएका छन् । उनले गठबन्धन बलियो रहने विश्वास समेत व्यक्त गरे ।

प्रचण्ड र माधव नेपाल एमसीसीप्रति सकारात्मक नभएपछि देउवामाथि विकल्प तयार गर्न दबाब बढेको छ । एमसीसी पारित गर्न देउवाले विकल्पहरुबारे छलफल गरेका हुन् । उनले विश्वासपात्र पठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत बढाइरहेका छन् ।

एमसीसीमा ब्याक हुने वा पारित गर्न कठोर निर्णयका साथ अगाडि बढ्नेबाहेक देउवासँग विकल्प छैन । उनले एमसीसीमा पछि हट्ने वा गठबन्धन भत्काएर ओलीसँग मिलेर पारित गर्नेबारे विकल्पसहित छलफल चलाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्