Logo

‘अबको १५औं महाधिवेशनमा चाहीँ कसैले पनि आइसकेको महिला नेतृत्वलाई रोक्न सक्दैन्’ : डा. संग्रौला (भिडिओसहित)



नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य डा. डीला संग्रौलाले पार्टीको नेतृत्व तहमा महिलाहरुको उपस्थिति सम्मानजनक रुपमा बढिरहेको भन्दै खुशी व्यक्त गरिन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘योपटक दुरदराजका महिला पनि निर्वाचित हुनुभएको छ । हुम्लाबाट रंगमती शाहीपनि निर्वाचित भएर आउनुभएको छ । त्यसैले योपटक सबैखालका प्रतिनिधिको प्रतिनिधित्व भएको छ । यस कुरामा हामी खुसी छौं ।’ उनले अबको १५औं महाधिवेशनमा अहिले आईसकेको महिला नेतृत्वलाई रोक्न नसक्ने दाबी गरिन् । उनले भनिन्–‘अबको १५औं महाधिवेशनमा चाहीँ कसैले पनि आइसकेको महिला नेतृत्वलाई रोक्न सक्दैन् । नेपाली काँग्रेसमा महिलाहरु अगाडि बढिसके ।’ प्रस्तुत छ नेतृ संग्रौलासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निवार्चित हुनुभएकोमा तपाईलाई बधाई तथा शुभकामना, कस्तो लागिरहेको छ ?
मलाई जिताउन भुमिका खेलेका सबैमा आभार प्रकट गर्न चाहन्छु, तपाईँलगायत मलाई मत दिने सबै साथिहरुलाई धन्यवाद ।
यो महाधिवेशनले कस्तो सन्देश दियो, महिलाहरु उत्साहित भएका छन् ?
हजुर हो । नेपाली काँग्रेसको विधानमा भएअनुसार एक÷तिहाई महिला आउनुभएको छ । यसकारण पनि महिलाहरु उत्साहित नै हुनुभएको छ । नेतृत्वमा महिला आउनुपर्छ भन्ने हाम्रो एजेण्डा रहेको थियो । तर, प्रदेशको सहमहामन्त्रीमा एक जना र केन्द्रको सहमहामन्त्रीमा पनि एकजना मात्र आउनु भएको छ । त्यसैले नेतृत्व तहमा महिला पुग्नुपर्ने हाम्रो माग अझैपनि पुरा हुन सकेको छैन् ।
नेतृत्व तहमा महिला पुग्नुपर्छ भन्ने तपाईँहरुको माग हो ?
हो, हाम्रो माग भनेको नेतृत्व तहमै महिलाको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने हो । तर, त्यसो हुन सकेन ।
नेपाली काँग्रेसको १४औं महाधिवेशमा सबै सक्षम महिलाहरु निर्वाचित भए अथवा केही छुटेका छन् ?
योपटक दुरदराजका महिला पनि निर्वाचित हुनुभएको छ । हुम्लाबाट रंगमती शाहीपनि निर्वाचित भएर आउनुभएको छ । त्यसैले योपटक सबैखालका प्रतिनिधिको प्रतिनिधित्व भएको छ । यस कुरामा हामी खुसी छौं ।
उसोभए नेपाली काँग्रेसमा महिलाहरु झनै सशक्त र प्रभावशाली भएर आएका हुन् ?
पक्कैपनि यो महाधिवेशनमा महिलाहरुको संख्या एक÷तिहाई हुनुपर्ने प्रावधानले गर्दापनि धेरै महिलाहरु केन्द्रीय समितिमा आउनुभएको छ । सशक्त भएर आउनुभएको छ ।
नेपालका राजनीतिक दलको कुरा गर्नुपर्दा महिलाहरु नेतृत्वमा पुग्न सकेनन्, आगामी दिनमा नेपाली महिलाहरुको भूमिका राजनीतिमा कस्तो रहला ?
नेपालको राजनीतिमा महिलाहरुको भूमिका हेर्ने हो भने शीर्ष तहमा पुग्न सकेका छैनन् । अहिलेको अवस्थामा भन्नुपर्दा दोस्रो तहमा अर्थात् उपप्रमुख, उपसभामुख, कोषाध्यक्ष, सहमहामन्त्रीजस्तो पदमा मात्र पुगेका छन् । तर, पनि केन्द्रीय समितिमा महिलाहरुको निर्णायक भूमिका भएको हुनाले निर्णय गर्ने तरिका, पार्टीले गर्ने ठूला–ठूला निर्णयहरु साथै, देश र राष्ट्रको निम्ति बोक्ने एजेण्डामा चाहीँ महिलाहरुको अहम भूमिका हुन्छ । भूमिका परिवर्तन हुन्छ ।
उसोभए नेपाली काँग्रेसमा महिला सभापति बन्ने सम्भावना पनि छ ?
अबको १५औं महाधिवेशनमा चाहीँ कसैले पनि आइसकेको महिला नेतृत्वलाई रोक्न सक्दैन् । नेपाली काँग्रेसमा महिलाहरु अगाडि बढिसके ।
तपाईँले अत्यधिक मत पाउनुभयो होइन् ?
साथीहरुले ममाथी विश्वास गरेर अत्यधिक मत दिनुभएको छ । यसअघिको महाधिवशेनमा पनि साथीहरुले मलाई यसरी नै जिताउनुभएको थियो । त्योे जिम्मेवारीलाई म पुरा गर्नेछु भनेको थिएँ । सडकदेखि सदनसम्म मलाई देख्नुभयो होला, त्यसैले फेरी पनि नयाँ जिम्मेवारी दिनुभएको छ । जसलाई मैले सशक्त ढंगले पुरा गर्नेछु ।
तर, सदन चल्न सकेको छैन, तपाईंले कसरी आफ्नो भूमिका निर्वाह गर्नुहुन्छ ?
संसद् चलाउन सरकारको प्रयास जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच किन संवाद हुन सकेको छैन् ?
संवादको लागि प्रधानमन्त्रीले डाकेकोे बैठकमा प्रतिपक्षी दल आउनुपर्छ । तर, उहाँ आउनुभएको छैन् । सधैँ एउटै रटान लगाएर संसद अवरुद्ध गर्ने हो भने संसद्को सर्वोच्चता कहाँ जान्छ ? संसद्को पहिलो अधिवेशन पनि हामीले एक शब्द नबोलेर सकियो । जनताका प्रतिनिधिले जनताका समस्या सुनाउने ठाउँ संसदनै चल्न नदिने काम भइरहेको छ । अनि उहाँहरु नै संसद्भित्र संसदीय मर्यादा कायम गर भन्नुहुन्छ । यो त हाँस्यास्पद कुरा भएन र ?

नेपाली काँग्रेसले प्रदेश नम्बर २ मा अझैपनि सभापति चयन गर्न सकेको छैन्, नेपाली काँग्रेसले किन सर्वसम्मत् रुपमा चयन गर्न सक्नुभएन् ?
यो बेग्लै पाटो हो । लोकतान्त्रिक पार्टीभित्र हामी अहिले आन्तरिक लोकतान्त्रिक अभ्यासमा छौं । यो अभ्यासमा अहिले आठै तहको संरचनासम्म आइपुग्दा हामीले प्रतिष्पर्धा गर्यौं । कोही विजेता भए, त कोही उपविजेता । यसैगरि २ नम्बर प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ । यो बीचमा आ–आफ्नो मन मिल्ने साथीहरु गुटहरु बनाएर कसरी जिताउने भन्नेमा लाग्नुभएको छ, जुन स्वभाविक हो ।
केन्द्रमा सभापतिमा शेरबहादुर देउवालाई जिताउन बिमलेन्द्र निधि लाग्नुभएको थियो । तर, प्रदेश नम्बर २ मा शेरबहादुर देउवा उहाँको पक्षमा रहनुभएन नि ?
मैले अघिनै भनिसकें–यो प्रतिष्पर्धामा पहिले नै सबै उम्मेद्वारको तय भइसकेको थियो । तर, उहाँहरु अन्तिम विन्दुसम्म जान चाहनुभएन । अब अहिलेको अवस्थामा प्रतिष्पर्धामा हुनुहुन्छ, जसले जित्नुहुन्छ उहाँ नै नेतृत्वमा जानुहुन्छ । यो कुरा स्वभाविक भइहाल्यो ।
तर, त्यहाँ त शेखर कोइराला र विमलेन्द्र निधिको बीचमा सहकार्य भयो नि ?
राजनीतिमा सहकार्य त भइहाल्छ नि । यो ठूलो कुरा नै होइन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्