Logo

हल्दुखालमा कबड्डी : निजी लगानी, निःशुल्क प्रशिक्षण



–शेरबहादुर सिंह महेन्द्रनगर, ६ पुस : खेलाडी उत्पादनका लागि निःस्वार्थ भावनाका साथ अघि बढे जस्तोसुकै परिस्थितिमा पनि मुलुकका लागि खेलाडी प्रतिभावान खेलाडी दिन सकिन्छ, भन्ने उदाहरण पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा देखिएको छ ।

गत वर्ष कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले आफ्नो आठ कठ्ठा जमिनमा स्पोर्टस् एकेडेमी स्थापना गरेपछि अहिले हरेक दिन बिहान यहाँ ९३ जना १४ वर्ष मुनिका बालबालिका कबड्डी प्रशिक्षण निःशुल्करुपमा पाइरहेका छन् ।

“गाउँमै नयाँ खेलाडी उत्पादन गरौँ भनेर प्रशिक्षण केन्द्र रु १२ लाख लगानी गरेर स्थापना गरेँ”, उहाँले भन्नुभयो, “पछि कबड्डीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि त्यहाँ कबड्डीकै भूपू राष्ट्रिय खेलाडीले नियमित प्रशिक्षण दिइरहेका छन् ।”

कबड्डीका मुख्य प्रशिक्षक भट्टले सुरुआत गरेको प्रशिक्षण केन्द्रमा हाल ग्रामीण भेगका खेलाडीको सङ्ख्या बढिरहेको छ । नेपाली सेनाबाट सेवानिवृत्त भएर आउनुभएका कबड्डीका पूर्वराष्ट्रिय खेलाडी नरेन्द्र थापाले विगत केही महिनायता दैनिक प्रशिक्षण दिइरहनुभएको छ ।

“भीमदत्त नगरपालिका–१, ३, ६, ७, ८ र नौ वटासमेत खेलाडी प्रशिक्षणका लागि आउँछन्”, उहाँले भन्नुभयो, “हल्दुखाल क्षेत्रमा कबड्डीको क्रेज दशकौँदेखिको हो ।” कञ्चनपुरका २०३६ को दशकयतादेखि निरन्तर कबड्डी खेलका प्रशिक्षण हुँदै आएको छ । कञ्चनपुरकै कबड्डी प्रशिक्षक भट्टले अहिले मुलुकको कबड्डीको मुख्य प्रशिक्षकको भूमिकामा हुनुहुन्छ ।

यसअघि पनि कबड्डीको मुख्य प्रशिक्षकमा कञ्चनपुरकै तारासिंह भाटले जिम्मेवारी सम्हाल्नुभएको थियो । “हल्दुखालबाट मात्रै नौ जनाले अन्तर्राष्ट्रिय कबड्डी खेलमा सहभागिता जनाएको तथ्याङ्क छ”, मुख्य प्रशिक्षक भट्टले भन्नुभयो, “गाउँमा थालिएको प्रशिक्षणले चाँडै कबड्डीका लागि प्रभिावान खेलाडी जन्मिनेमा ढुक्क छौँ ।”

त्यसैगरी जिल्ला कबड्डी सङ्घ कञ्चनपुरका उपाध्यक्ष रमेशचन्द्र ओझाले ग्रामीण भेगमै खेलाडी बढी हुने गरेकाले सो क्षेत्रमै प्रशिक्षण केन्द्र हुनु सुखद् पक्ष रहेको बताउनुभयो । “कबर्डहलमा प्रायःखेलकूद आयोजनाको पूर्वसन्ध्यामा मात्रै प्रशिक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ”, उहाँले भन्नुभयो, “गाउँमै प्रशिक्षण पाउँदा समाजमा बढ्दो विकृति र विभिन्न कुलतबाट पनि युवा पिँढी बाँचिरहेको हुन्छ ।”

उहाँले खेल जीवनमा बालबालिका प्रवेशले अभिभावक पनि खुसी हुनुपर्ने बताउनुभयो । “खेल स्वास्थ्यका लागि सँगै अनुसाशनका लागि पनि अपरिहार्य हो”, ओझाले भन्नुभयो, “राज्यले पनि खेल प्रशिक्षण ग्रामीण भेगमा पु¥याउन नसकेका बेला कबड्डी बस्तीसम्म पुग्नु सकारात्मक कुरो हो ।”-रासस



प्रतिक्रिया दिनुहोस्