गण्डकी, ६ पुस: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनसके लोकतन्त्र बलियो बन्ने बताए ।
निर्वाचन प्रणाली खर्चिलो बन्दै गएको जनाउँदै उनले आम सर्वसाधारण निर्वाचनमा उमेदवार बन्नसक्ने किसिमको कम खर्चिलो बनाउनु अपरिहार्य भएको उल्लेख गरे । आयोगको प्रभावकारिताका लागि साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले विद्यमान निर्वाचन प्रणालीलाई सुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए ।
प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले समावेशी, समानुपातिक प्रतिनिधित्वले समाजको विपन्न तथा पिछडिएको वर्गले स्थान पाएको बताए । उनले भने,“विद्यामान निर्वाचन प्रणालीलाई समयसापेक्ष सुधार गर्न आवश्यक छ ।”
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले विद्यमान निर्वाचन प्रणाली सम्बन्धमा देखिएका समस्याबारे सुझाव सङ्कलन गरी प्रतिष्ठानले सम्बन्धित निकायमा सिफारिस गर्ने बताए ।
पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीलाई खर्चिलो बनाउनबाट रोक्नुपर्नेमा जोड दिँदै यसका लागि दल तथा आयोग दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेशसभा सदस्य, सरकारी अधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।-रासस