Logo

मधेशबाट बढी सिट जित्न ओलीको यस्तो रणनीति



काठमाडौं, ६ पौष । नेकपा एमालेले मधेशमा पकड बढाउने रणनीति अगाडि सारेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफै मधेशमा सक्रियता बढाइरहेका छन् ।

ओलीले कपिलवस्तुको बहादुरगञ्जमा पुगेर जनता समाजवादी पार्टीका नेता मंगलप्रसाद गुप्तालाई एमालेमा प्रवेश गराए । गुप्ता कपिलवस्तुका प्रभावशाली नेता हुन् ।

मधेश झर्दै ओलीले पकड बढाइरहेका छन् । उनलाई प्रधानमन्त्रीबाट हट्दै गर्दा मधेशवादी नेताहरुको माग सम्बोन गर्न गरेका केही निर्णयले मधेशमा प्रभाव बढाउन सजिलो भएको छ ।

विगतमा मधेशविरोधी आरोप खेपेका ओलीले पछिल्लो समय प्रधानमन्त्री हुँदा केही महत्वपूर्ण निर्णय गरे । लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर हरेक महतवपूर्ण फोरमहरुमा ओलीको प्रशंशा गर्छन् । एमाले र काँग्रेस दुवैको महाधिवेशन उदघाटनमा उनले ओलीले आफूहरुको कतिपय माग सम्बोधन गरेको भन्दै प्रशंशा गरे । यसलाई अर्थपूर्ण मानिएको छ ।

देशका १६५ निर्वाचन क्षेत्रमध्ये तराई मधेशका २० जिल्लामा मात्र ७८ छन् । बाँकी ५७ जिल्लाहरुमा ८७ निर्वाचन क्षेत्र छन् । बढी निर्वाचन क्षेत्र रहेको तराई मधेशमा ओलीको ध्यान गएको छ ।

मधेश केन्द्रित दलहरु विभाजित भएको मौकामा ओली तराई भरिरहेका छन् । अर्कोतर्फ, नेपाली काँग्रेसभित्र मधेशका नेताहरु कमजोर देखिएका छन् । पदाधिकारीमध्ये महेन्द्र यादव मात्र मधेशी छन् । मुस्लिमबाट फर्मूल्लाहा मन्सुर छन् । १३ पदाधिकारीमध्ये तराई मधेश गृहक्षेत्र भएकामा महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरु यादव र मन्सुर मात्र छन् । खुल्ला केन्द्रीय सदस्यमा पनि पदमनारायण चौधरी र डा. गोपाल दहित मात्र जितेका छन् ।

काँग्रेसमा मधेशका नेताहरुको कमजोर अवस्था बुझेर ओली सक्रिय भएका छन् । चुनावमा जानुअघि मधेशमा प्रभाव बढाउने उनको तयारी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्