काठमाडौं, पुस ७ । हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात सताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। साइन्टिफिक रिपोट्र्स नामक जर्नलमा सोमबार प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो,बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। कृषिमा आधारित लाखौं दक्षिण एसियाली जोखिममा छन्।
अनुसन्धानकर्ताका अनुसार हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण समुद्रको सतह बढ्ने,तल्लो तटमा डुबानको समस्या पर्ने तथा समुद्र किनारमा रहेका समुदायलाई चुनौती थपिने देखिएको छ। ‘दक्षिण एसिया क्षेत्रले यसअघि कल्पना गरेभन्दा अत्यन्त तीव्र हिसाबमा प्रभावित देखिएको छ,’ अध्ययनका सहलेखक युनिभर्सिटी अफ लिड्सका हिमनदी विज्ञ जोनाथन क्यारिभिकले भने, ‘हिमालयमा देखिएको यो परिवर्तन अन्यन्त छिटो गतिमा देखिएको छ।’
वैज्ञानिकले धेरै पहिलादेखि न्युजिल्यान्ड, ग्रिनल्यान्ड, पाटागोनियालगायत विश्वका अन्य भूभागका ठूला हिमनदीमा हिउँ घट्ने क्रमको अध्ययन गर्दै आएका छन्। तर हिमालय क्षेत्रमा हिउँ घट्ने क्रम अत्यन्त तीव्र रहेको नयाँ अध्ययनले देखाएको छ।
यो परिवर्तन ठ्याक्कै के कारणले भएको हो भन्नेमा अनुसन्धानकर्ताले यकिन गरेका छैनन् तर दक्षिण एसियामा मनसुनमा आएको परिवर्तनले यसो भएको हुन सक्ने अनुमान उनीहरूको छ। खनिज इन्धन बाल्दा हुने हरित गृह ग्यास उत्सर्जनका कारण हिमनदी तथा तालमा हिउँ पग्लने गरेको वैज्ञानिक मान्यता रहेको सन्दर्भमा नयाँ अध्ययनको नतिजा सार्वजनिक भएको छ।
विभिन्न वैज्ञानिक अध्ययनले विश्वको तापमान बढ्नुमा मानवीय कारण रहेको देखाएका छन्। गत अगस्तमा जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी प्यानल ९आइपिसिसी० ले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् १९९० यता हिउँ घट्नुको प्रमुख कारण मानवीय गतिविधि हुन सक्ने जनाएको थियो।
नयाँ अध्ययनका क्रममा दक्षिण एसिया क्षेत्रमा १५ हजार हिमनदीका तस्बिर लिएर समीक्षा गरिएको थियो। परापूर्व कालमा रहेको ग्लेसियल ट्र्याकको तुलना गरेर कति मात्रामा हिउँ पग्लेको हो भनेर अध्ययनमा आकलन गरिएको थियो। हिमनदी पग्लेर बग्दा हिमनदीसँगै ठूला चट्टान तथा गेग्रान जम्मा हुने भएकाले वैज्ञानिकले त्यस प्रकारको ग्लेसियल ट्र्याकको अनुमान गरेका हुन्।
हाल हिउँले ओगटेको क्षेत्रको आधारमा चार सय वर्षदेखि सात सय वर्षअघिको ‘लिट्ल आइस एज’देखि यता कति मात्रामा हिउँ घटेको हो भनेर अनुसन्धानकर्ताले प्रक्षेपण गरेका हुन्। उनीहरूले यो अवधिमा ३९० देखि ५८६ क्युबिक किलोमिटर हिउँ घटेको अनुमान गरेका छन्। यति मात्रामा हिउँ पग्लिँदा समुद्र सतह शून्य दशमलब ९२ मिलिमिटरले बढ्ने वैज्ञानिक आकलन छ। नागरिक दैनिकबाट