Logo

मूल्य वृद्धिले मल आपूर्तिमा समस्या



काठमाडौं, पुस ७ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य एक वर्षमै करिब तीन गुणा बढेपछि नेपालमा आपूर्तिमा असर परेको छ। उच्च मूल्य वृद्धिले मल आयात हुन नसक्दा किसानले तरकारी र हिउँदे बालीका लागि रासायनिक मल पाउन सकेका छैनन्।

अन्तर्राष्ट्रिय बजारमा गत मेमा प्रतिमेट्रिक टन तीन सय १३ डलर रहेको युरिया मलको मूल्य नोभेम्बरमा आइपुग्दा नौ सय डलरमाथि पुगेको थियो। अहिले बढेर ११ सय डलरमाथि पुगेको छ । कोभिड–१९ को प्रकोपपछि उत्पादकले उत्पादन कटौती गरेका कारण मागका आधारमा उत्पादन नहुँदा मूल्यमा भारी वृद्धि भएको हो।

गत वर्ष नेपालले प्रतिमेट्रिक टन चार सय ५२ डलरमा किनेको युरिया मलको मूल्य अहिले बढेर ११ सय ५० डलर पुगेको साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए। ‘रासायनिक मलको मूल्य तीन गुणा बढीले वृद्धि भएको छ,’ राजभण्डारीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले मल आपूर्तिमा कठिनाइ भएको छ।’ चीनले मल आपूर्तिमा रोक लगाएको र कोभिडपछि विश्व बजारमा मल उत्पादन कटौटी भएकाले मूल्य वृद्धि भएको राजभण्डारीले बताए। ‘मल अभाव हुनुको मुख्य कारण अस्वाभाविक मूल्य वृद्धि हो,’ उनले भने। मल ढुवानी गर्ने जहाजको भाडाको मूल्य पनि निकै वृद्धि भएको राजभण्डारीले बताए।

नेपाल सरकारले मल खरिद गर्न कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिएको छ। आपूर्तिको ठेक्का पाएका कम्पनीले मूल्य वृद्धि भएपछि मल उपलब्ध गराएका छैनन्। टेन्डर गरेको मध्ये एक लाख १५ हजार मेट्रिक टन मल नआएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मूल्य वृद्धि हुँदा टेन्डर गरेको मल पनि समयमा आउन नसकेको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए। ‘मलको अस्वाभाविक मूल्य वृद्धिले आपूर्ति शृङ्खलामा समस्या आएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘मल ल्याउने व्यवस्था मिलाउन थप बजेट माग गरेका छौं। ’यो सिजनमा युरिया र डिएपी मलको माग छ। अनुदानको मल बिक्रीको जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका गोदाम रित्तिन थालेका छन्।

साल्ट ट्रेडिङलाई एक लाख मेट्रिक टन मल दिन भारतको आइपिएलले ठेक्का लिएको भए पनि अहिलेसम्म २५ हजार मेट्रिक टनमात्र दिएको छ। ‘मल दिन्छु त भनेको छ,’साल्ट ट्रेडिङका सूचना अधिकारी राजभण्डारीले भने,‘कहिले दिने हो थाहा छैन।’

कृषि सामग्रीबाट ठेक्का लिएका कम्पनीमध्ये पनि केहीले सम्झौता तोडेका छन् भने केहीले अल्झाएर राखेका छन्। कृषि सामग्रीले ठेक्का लगाएको करिव ८० हजार मेट्रिक टन युरिया आएको छैन।

हिउँदे बाली तथा तरकारीका लागि करिब एक लाख ३० हजार मेट्रिक टन रासायनिक मलको माग छ। ६० हजार डिएपी र ७० हजार टन युरिया मल आवश्यक रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले करिब १४ हजार मेट्रिक टन मल मौज्दात छ।

चालु आर्थिक वर्षमा मल खरिदका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत तीन अर्ब थपेर १५ अर्ब रुपैयाँ पुर्‍याएका छन्। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले थप बजेट आवश्यक भएको मन्त्रालयले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot