Logo

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी



काठमाडौं, ७ पौष । भृकुटीमण्डप प्रदर्शनी हलमा इनटरप्राइज इन्डिया प्रदर्शन चलिरहेको छ । ६ देखि ८ पौष सम्मका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् । प्रदर्शनीमा नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ ।

६ पौषमा भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । उनले कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गरिन् । आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग साझेदारी खोज्न पनि प्रेरित गरेकी थिइन् ।

भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२२’ को आयोजना गरेको हो । दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको जनाइएको छ । संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु यस प्रदर्शनीको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot