Logo

काँग्रेस र एमालेमा भन्दा माओवादी र राप्रपामा महिलालाई बढी अवसर



काठमाडौं, ८ पौष । देशका प्रमुख तीनवटा दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सकिएको छ । माओवादी राष्ट्रिय सम्मेलन गर्दैछ । त्यस अगाडि उसले प्रदेश तहसम्म सम्मेलन गरेको छ ।

चारवटा दलहरुमा महिलाको प्रतिनिधित्वलाई दृष्टिगत गर्दा सबैभन्दा बढी महिलालाई अवसर राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रमा प्राप्त भएको देखिएको छ । राप्रपाले सभापतिबाहेक पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरेको छ । उपसभापतिमा रोशन कार्की र महामन्त्रीमा कुन्ती शाही निर्वाचित भए । राप्रपामा केन्द्रीय सदस्यमा पनि उल्लेख्य संख्यामा महिला निर्वाचित भएका छन् ।

राप्रपामा मन्त्री भइसकेकाहरु उल्लेख्य संख्यामा राजनीतिमा सक्रिय छन् । जसमध्ये रोशन कार्की, कुन्ती शाही, दुर्गा श्रेष्ठलगायत छन् । राप्रपा पृष्ठभूमीबाट मधेशवादी दलमा लागेकी रेणु यादव अहिले जसपाबाट सरकारकी मन्त्री छिन् ।

नेकपा माओवादी केन्द्रमा पनि महिलाहरु शक्तिशाली निकायमा छन् । माओवादीले सरकारमा २ जना महिलालाई पठाएको छ । पम्फा भुसाल ऊर्जा र शशि श्रेष्ठ भूमिसुधार मन्त्री छन् । माओवादीको राष्ट्रिय सम्मेलनमा पम्फा भुसाल पदाधिकारीकी दाबेदार हुन् । उनी उपाध्यक्ष बन्ने सम्भावना प्रबल छ । शशि श्रेष्ठ र विना मगर पनि महत्वपूर्ण पदमा छन् ।

माओवादीको सम्मेलनमा कर्णाली र गण्डकी प्रदेशको अध्यक्षमा महिला नै नेतृत्वमा पुगेका छन् । कर्णालीमा विमला केसी र गण्डकीमा गायत्री गुरुङ चयन भएका छन् । माओवादीले प्रतिनिधि सभा र प्रदेश सभामा पनि महिलालाई उल्लेख्य संख्यामा पठाएको छ ।

माओवादी र राप्रपाको तुलनामा नेपाली काँग्रेस र नेकपा एमालेमा महिलाको माथिल्लो निकाय देखि तल्लो निकायसम्म प्रतिनिधित्व कम छ । काँग्रेसमा डिना उपाध्याय एकमात्र पदाधिकारी हुन् । सभापति, उपसभापति, महामन्त्री र सहसचिव गरी १३ जना पदाधिकारीमध्ये डिना सहमहामन्त्रीका रुपमा एक्ली पदाधिकारी हुन् । उपसभापतिमा उम्मेदवार बनेकी सुजाता कोइराला र दिव्यश्वरी शाह पराजित भए ।

काँग्रेसले केन्द्रीय सदस्यमा हरेक प्रदेशमा एक महिला अनिवार्य गरेको छ । त्यसबाहेक समावेशीतर्फ पनि महिलाको सहभागिता सुनिश्चित गरेको छ । तर, पदाधिकारीमा सहमहामन्त्री एउटा पदमात्र सुनिश्चित गरेको छ । काँग्रेसले सरकारमा पनि एकमात्र महिलालाई सहभागी गराएको छ । उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छिन् ।

एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य छिन् । सचिवमा पदमा अर्याल छिन् । १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव गरी १३ पदाधिकारीमध्ये २ जना मात्र महिला छन् । यो काँग्रेसको तुलनामा पदाधिकारीमा दोब्बर बढी महिला सहभागिता हो । एमालेले महिला राष्ट्रपति बनाएको जस लिने गरेको छ । पछिल्लो समय भविष्य बोकेका महिलाहरु पेलाईमा परेका छन् । तर, महत्वपूर्ण पदमा राप्रपा नै महिला सहभागिताको दृष्टिले अगाडि देखिएको छ । तर, महत्वपूर्ण पदमा राप्रपा नै महिला सहभागिताको दृष्टिले अगाडि देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्