Logo

काँग्रेसमा ‘हिन्दुराष्ट्र’को पक्षधर को को जिते



काठमाडौं, ८ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशन अघि शंकर भण्डारीले जस्ले ‘हिन्दुराष्ट्र’को पक्ष लिन्छ उसैले नेतृत्व लिन्छ भनेका थिए । सभापतिमा शेरबहादुर देउवाले जिते । तर, देउवा धर्मको मुद्दाबारे जहिले पनि मौन छन् । उनले धर्मनीरपेक्षको पक्षमा पनि बोलेका छैनन् न त विरोधमा ।

विगतमा खुमबहादुर खड्काले उठाएको हिन्दुराष्ट्रको मुद्दालाई भण्डारीले निरन्तरता दिइरहेका छन् । उनी खड्काका विश्वासपात्र थिए । काँग्रेसको केन्द्रीय सदस्यको खुल्लातर्फको प्रतिष्पर्धामा शंकर भण्डारी आठौं सर्वाधिक मतका साथ विजयी भए ।

महाधिवेशन उदघाटनको दिन डा. सशांक कोइरालाले धर्मनीरपेक्ष राज्य नहुने भन्दै धार्मिक स्वतन्त्रता हुनुपर्ने अभिव्यक्ति दिए । कोइराला धर्मनीरपेक्षका विपक्षी हुन् । उनले विगतमा धर्मनीरपेक्ष वा हिन्दुराष्ट्रबारे जनता माझ जानुपर्ने बताएका थिए । कोइराला केन्द्रीय सदस्यको खुल्लातर्फ सर्वाधिक मत ल्याएर विजयी भए ।

काँग्रेस केन्द्रीय सदस्यमा दोस्रो बढी मत ल्याउनेमा एनपी साउद पनि हुन् । उनी पनि धर्मनीरपेक्षको विपक्षमा उभिएर हिन्दुराष्ट्रको विषय उठाउन थालेका छन् । महाधिवेशन अगाडि उनले धर्मको मुद्दासहित अभिव्यक्तिहरु दिइरहे ।

काँग्रेसमा धर्मनीरपेक्ष नरुचाएका बालकृष्ण खाँण, उदय शमशेर राणा जस्ता नेताले पनि बढी मत ल्याएर केन्द्रीय सदस्यको चुनाव जिते । यही पृष्ठभूमिका सुनिलबहादुर थापा लोकप्रीय मत ल्याउनेमा परे । राप्रपाबाट प्रवेश गरेर काँग्रेसको राजनीतिमा स्थापित हुने क्रममा थापाले १४औं सर्वाधिक मत ल्याए ।

काँग्रेसको पदाधिकारीमा धर्मबारे मौन रहँदै आएका पूर्णबहादुर खड्का उपसभापतिमा विजयी भए । धर्मनीरपेक्षका पक्षधरहरुमा धनराज गुरुङ उपसभापति, महामन्त्रीहरुमा विश्वप्रकाश शर्मा र गगन थापा जिते ।

काँग्रेसको पदाधिकारीमा धर्मनीरपेक्षका विरोधी कोही पनि जितेनन् । धर्मको मुद्दामा मौन भएकाहरु जिते या त धर्मनीरपेक्षका पक्षधरहरु जिते । तर, केन्द्रीय सदस्यमा धर्मनीरपेक्षताका विरोधीहरु भारी मतान्तरले विजयी हुनुले भविष्यमा यो मुद्दा काँग्रेसभित्र जोडतोडले उठ्नसक्ने देखिएको छ



प्रतिक्रिया दिनुहोस्

Screenshot