Logo

सुर्खेत सभाहललाई बजेट अभाव



कर्णाली, ८ पुस: बजेट अभावका कारण सुर्खेत सभाहलको दोस्रो चरणको निर्माणकार्य प्रभावित भएको छ । वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणकार्य प्रभावित हुनपुगेको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा रु छ करोड लागत अनुमान गरेको छ । तर सहरी विकास तथा निर्माण विभागले चालू आर्थिक वर्षमा रु एक करोड ५० लाख मात्र बजेटको अख्तियारी पठाएको छ । जसले गर्दा आयोजनालाई दोस्रो चरणका काम अघि बढाउन समस्या परेको छ । एकाइका आयोजना प्रमुख अमरबहादुर थापाले बजेट अपुग भएका कारण ठेक्का आह्वान गर्न नसकिएको बताए । “विभागसमक्ष नयाँ प्राविधिक स्टिमेटसहित आवश्यक बजेट माग गरेका छौँ”, उनले भने, “यदि माग स्वीकृत नभए बाँकी संरचना बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गरिनेछ ।”

समानान्तर-चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य पूरा गरेको हो । ८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ ।

साढे तीन बिघा क्षेत्रफलमा फैलिइएको सभाहलको निर्माणकार्य आव २०७३-७४ देखि सुरु गरिएको हो । भूकम्प प्रतिरोधी सभाहलसहित प्रशासनिक भवन, अपाङ्गमैत्री संरचना र करिब ४०० सवारीसाधन पार्किङ गर्न सकिने सुविधा रहेको आयोजनाले जनाएको छ । यो कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र पहिलो सुविधासम्पन्न सभाहल हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot