काठमाडौं, ८ पुस । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आज बारका सचिव अधिवक्ता मनोजकुमार चौधरीले एक विज्ञप्ती जारी गर्दै हरेक दिन विहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन जारी रहेको जनाएका छन् ।
र, उपत्यकामा रहेका सबै कानून व्यवसायीहरुलाई आन्दोलनमा सक्रिय सहभागी हुनको लागि पनि आह्वान गरिएको छ । पछिल्लो समय बारको आन्दोलनमा कानून व्यवसायीहरुको सहभागिता कम हुँदै गएको समाचार आएका छन् ।
यसअघि बारका पदाधिकारी र पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गरेर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । तर, दलहरुबाट सकारात्मक जवाफ नपाएपछि बारका पदाधिकारीहरु निराश छन् ।