Logo

राष्ट्रिय सम्मेलनले आगामी १० वर्ष माओवादीले नै देशको नेतृत्व गर्ने नीति तय गर्ने सिम्खडाको दाबी



काठमाडौं, ८ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का भातृ संगठनका प्रमुखहरुले पार्टीको राष्ट्रिय सम्मेलनमार्फत लिईने नीति र विचारले नै देशलाई डोर्याउने बताएका छन् । र, उनीहरुले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसिएलका अध्यक्ष सुमन देवकोटा र मजदुर संगठनका प्रमुख जगत सिम्खडाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पार्टीका उपत्यकाविशेष प्रदेश अध्यक्ष जगत सिम्खडाले राष्ट्रिय सम्मेलनपछि आफ्नो पार्टी नेपालकै पहिलो समाजवादी पार्टी बन्ने बताए । ११ गतेबाट सुरु हुने प्रथम सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने दस्तावेजमा बहस तथा छलफल हुने पनि जानकारी दिए । उनले भने,‘दस्तावेजमा भएका कमजोरीबाट पाठ सिक्दै हामी आजका दिनमा पार्टीको रणनैतिक–कार्यनीतिलाई चुस्त/दुरुस्त बनाएर समावेशिताको नमूना प्रदर्शन हुनेखालको पार्टी बनाउने छौं।’

आफूहरुले सम्मेलनपछि रणनीती र कार्यनितिको हिसाबले समाजवादको नारालाई कार्यान्वयन गर्ने पहिलो पार्टी माओवादी बनाउने पनि उनले बताए । प्रचण्डले बोकेको एजेण्डामा नै मुलुक ०५२ सालदेखि आजसम्म अघि बढिरहेको उनले जिकिर गरे।

उनले भने,‘कहिलेकाहीँ पार्टी सानो होला, संसदमा प्रतिनिधित्व गर्ने हाम्रो सांसदहरुको संख्या घट्ला, वा सिट बढ्ला त्यो गौण कुरा हो, तर यो देश माओवादीले अघि सारेको एजेण्डाअनुसार नै हिँडेको छ । एजेण्डा कस्तो छ ? एजेण्डा कसले उठायो ? गणतन्त्र कसले उठाएको एजेण्डा हो ? संघीयता कसले उठाएको एजेण्डा हो ? धर्मनिरपेक्षता कसले उठाएको एजेण्डा हो ? समानुपातिक–समावेशिता, यी सबै प्रचण्डका एजेण्डा हुन् ।’

प्रचण्डले बनाएको कार्यदिशानुसार आज देश अघि बढिरहेको उल्लेख गर्दै सिम्खडाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि प्रचण्डकै एजेण्डा भएको दाबी गरे । प्रचण्डले हिजोको दिनमा समावेशीताको मुद्दा उठाउँदा दलित, महिला, जनजातिहरुलाई व्यंग्य गर्नेखालका नेताहरु पनि त्यतिवेला धेरै रहेको स्मरण गराए । उनले भने,‘देश अहिले माओवादीको एजेण्डाभन्दा दायाँबाया छैन् ।’

सिम्खडाले अब समृद्धिको मुद्दामा प्रवेश गरेर सम्मेलनले समाजवादउन्मुख नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न रणनीति पनि तय गरिने जनाए । उनले माओवादी आफैमा रुपान्तरणसहितको माओवादी भएर जनताको बीचमा जाने र सम्मेलनले आगामी १० वर्ष माओवादीले नै देशको नेतृत्व गर्ने नीति तय गर्ने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्