Logo

आयातका लागि ५ महीनामा ८ खर्ब ३८ अर्ब रुपैयाँ बाहिरियो



काठमाडौं, पुस ९ । चालू आर्थिक वर्ष (आव) २०७८र७९ को ५ महीनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको थियो ।

पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ ।

यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महीनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।

चालू आवको ५ महीनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महीनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महीनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै ५ खर्बको वस्तु आयात गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot