Logo

गरिबभन्दा धनीको आत्महत्या दर बढी



दीपेश केसीः गरिबीका कारण नै अपराध हुन्छ भन्ने सोचले जरो गाडेको समाजमा आत्महत्याको प्रमुख कारण गरिबी हो भनी प्रस्तुत गरिने अस्वभाविक होइन । आत्महत्या सामाजिक यथार्थ अर्थात् सोसल फेक्ट भनी समाजशास्त्री इमाइल दुर्खाइमले व्याख्या गरेका छन् । उनले सन् १९८७ मा केस स्टडी गरी लेखेको ‘सुसाइड’ पुस्तकमा तथ्य र तथ्याङ्कसहित आत्महत्याको कारणमध्ये गरिबी पनि एक हो तर प्रमुख होइन भनी प्रमाणित गरेका छन् । गरिबले नै अपराध गर्छ र गरिबी नै अपराधको मुख्य कारण हो भन्ने सतही बुझाई हो । आत्महत्या मुख्यगरी गरिबीकै कारणले हुन्छ भन्ने अर्को गलत बुझाई हो । यही बुझाईले समाजमा आत्महत्या कम गर्ने अभियानहरु असफल हुने गरेका छन् ।

आत्महत्या किन हुन्छ भन्ने बुझ्नुपर्दा यसको गहिरो अध्ययनहरुलाई बुझ्न जरुरी हुन्छ । समाजशास्त्री दुर्खाइमले कामदारभन्दा उद्दोगीहरूले आत्महत्या बढी गरेको उल्लेख गरेका छन् । गरिबले भन्दा धनीले आत्महत्या गर्ने गरेको उनको तर्क धेरै समाजमा आजपर्यन्त गरिएका अध्ययन र अनुसन्धानले सिद्ध गरेको छ । सन् २०११ को सेम्टेम्बरमा चाइना डेल्लीको आवरण कथामा गरिबले भन्दा धनीले बढी आत्महत्या गर्ने देखाएको छ । धनीहरू गरिबभन्दा बढी दुःखी हुने मात्र नभई धनी देशका भन्दा गरिब देशका मान्छेहरू बढी खुशी रहनसक्ने देखाएको छ ।

नेपालमा सुरक्षाफौजबाट लिएको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने पनि गरिबी आत्महत्याको प्रमुख कारण भन्न मिल्दैन । प्रहरीका उच्च अधिकृतले नै आत्महत्या गरेका घटना छन् । ती आत्महत्या गरिबीको कारण भएको होइनन् । नेपाली सेनामा २०४८ यता १२० भन्दा बढी आत्महत्याका घटना भएका छन् । नियमित तलब, सेवानिवृत्त भएपछि पेन्सनको व्यवस्था भई सामाजिक सुरक्षाको सुनिश्चितताको बाबजुद सेना र प्रहरीमा आत्महत्याका घटना देखिन्छन् । यसले पनि गरिबी आत्महत्याको कारण होइन भन्ने तथ्य पुष्टि हुन्छ ।

आत्महत्या सबैभन्दा बढी गरिबी रहेको क्षेत्रमा भएको छैन । शहरी इलाकामा भएको छ । गरिबीको रेखामुनी रहेका जनता भएको क्षेत्रमा अपराध कम छ । शहरीकरण र तिव्र विकासको चरणमा आत्महत्या बढ्छ । भारतमा आत्महत्या बढी हुने राज्यमा सिक्किम पर्छ शिक्षित प्रतिशत उच्च रहेको राज्यहरू तालिम नाडु र र केरला पनि आत्महत्या बढी हुनेमा पर्छन् । प्रतिव्यक्ति आय र समृद्धिका दृष्टिले सिक्किम उत्कृष्ट राज्यहरूमा पर्छ । नेपालको आत्महत्याको तथ्याङ्क केलाउँदा काठमाडौं उपत्यका र शहरी क्षेत्रमा बढी देखिन्छ । यी क्षेत्रहरू गरिबी बढी रहेको क्षेत्रमा पर्दैन । विकासको गति तिव्र भइरहेको क्षेत्रमा पर्छ ।

आत्महत्याको कारणमध्ये गरिबीलाई केन्द्रित गरी केलाउने प्रवृत्ति हावी हुँदा अन्य पक्ष बेवास्ता हुनेगरेको छ । नेपालमा आत्महत्याबारे भएका अध्ययन, विश्लेषण र समाचारले गरिबीलाई प्रमुख कारण देख्न छाडेको छैन । जुन आफैमा त्रुटी हो । समाजशास्त्रीय दृष्टिकोणमा बढी केन्द्रित भएर मनोवैज्ञानिक पक्ष कारण होइन भन्नु पूर्वाग्रही तर्क हो । सामाजिक पक्ष र मनोविज्ञानबीच अन्र्तसम्बन्ध छ । समाजका घटनाहरूले व्यक्तिमा मानसिक असर पर्छ । जस्तैः समाजले निर्धारण गर्ने लक्ष्य र त्यसलाई छुन आवश्यक आधारहरू कमजोर भएमा व्यक्तिमा विचलन आउँछ । मानसिक रूपमा विक्षिप्त भई अपराधमा लाग्छ । जसमध्ये आत्महत्या पनि एउटा कारण हो । समाजले यो या त्यो बन्नुपर्छ भनेर सिकाउने र दबाब दिने तर त्यो पूरा हुन कठिन हुने भएपछि विचलन आउनु स्वाभाविक हो । आत्महत्या गरिबीका कारण मात्र होइन भन्ने समृद्ध देशहरूका कुलिन व्यक्तिहरूले गरेको आत्महत्याका घटनाले पनि देखाउँछ ।

सुरक्षानिकायमा आत्महत्याको जोखिम 
शक्ति र जीवन धान्न सक्ने पैसाको सुनिश्चितताका बाबजुद सुरक्षाफौजमा आत्महत्या बढी देखिन्छ । समाजशास्त्री इमाइल दुर्खिमले पनि सर्वसाधारणमा भन्दा सुरक्षाफौजमा आत्महत्या बढी देखिएको तथ्यबारे उल्लेख गरेका छन् । उनको प्रशिद्ध कृति सुसाइडमा यसबारे प्रष्ट पारिएको छ ।

नेपालमा पनि सुरक्षा निकायका उच्च देखि तल्लो तहमा रहेकाहरुले आत्महत्या गरेको घटना रेकर्ड छ । ९ पौषमा नेपाल प्रहरीका एसएसपी सुशिलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा फेला परे । यो आत्महत्या हो वा होइन अनुसन्धानको विषय बनेको छ ।

९ माघ २०६७ मा बहालवाला डिआइजी कञ्चन थापाले आत्महत्या गरेका थिए । उनी नेपाल प्रहरीमा भविष्य भएका प्रहरी अधिकृतमा पर्दथे । थापाले बसुन्धराको सृजनाटोलस्थित घरमा आत्महत्या गरेका थिए । उनले दायाँ कन्चटमा गोली हानेका थिए ।

१४ कात्तिक २०६९ मा सशस्त्र प्रहरी बलका डिएसपी वसन्त थापाले आफ्नै गोकर्णस्थित रुखमा झुण्डिएर आत्महत्या गरे । उनले सुसाइड नोटमा पारिवारिक कारणले आत्महत्या गरेको लेखेका थिए ।

११ जेठ २०७७ मा महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत असई महेश कार्कीले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका थिए । उनले ड्युटी पछि पेस्तोलले आफैलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

३० वैशाख २०७८ मा पूर्वएआइजी कमलसिंह बमको घरमा कार्यरत प्रहरीले झुन्डिएर आत्महत्या गरेका थिए । काठमाडौंको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा प्रहरी परिचर बासुदेव धमलाले आत्महत्या गरेका थिए ।

२८ मंसिर २०७७ मा चितवनमा प्रहरी हवल्दारले आत्महत्या गरे । ३५ वषीृय होमप्रसाद ढकालले घर नजिकैको आँपको रुखमा पासो लगाई झुन्डिएर आत्महत्या गरेका थिए ।

किशोरी जिस्क्याएको उजुरी परेपछि पाँचथरको फिदिममा कार्यरत प्रहरी जवान मानबहादुर बिष्टले १२ जेष्ठ २०७५ मा आत्महत्या गरे । उनलाई पक्राउ गरेर ल्याउन जिल्लाबाट आदेश गएको थियो । त्यसको जानकारी पाएलगत्तै उनले आत्महत्या गरेका थिए ।

१५ असार २०७७ मा सुनसरी जिल्ला अदालतमा कार्यरत प्रहरी हवल्दारले आफैले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेका थिए । उनले कञ्चनमा गोली हानेका थिए ।

१३ जेठ २०७५ मा उदयपुरमा एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरेका थिए । उनले सुसाइड नोट लेखेर ब्यारेक नजिकै झुण्डिएर आत्महत्या गरेका थिए ।
१४ भदौ २०७७ मा जंगी अड्डास्थित पेट्रोल पम्पमा ड्युटीमा रहेका जवानले आफैले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका थिए ।

७ असार २०७८ मा पर्साको चण्डीप्रसाद गणका सिपाहीले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरे । उनले हानेको गोलीले मुखभर चोट लागेको थियो ।

यी घटना विभिन्न कारणले भए । यसबारे प्रहरीले अनुसन्धन गर्यो । सेनाले पनि आफ्नै तरिकाले अध्ययन गरेर सरकारलाई सुझाव दिएको थियो । जसमा गरिबी मुख्य कारण होइन भन्ने प्रष्ट उल्लेख गरियो ।

१२ साउन २०७६ मा भ्रष्टाचार काण्डमा बदनाम भएपछि ललिता निवास जग्गामा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले माछापोखरीको भवनको आठौं तल्लाबाट हामफालेर आत्महत्या गरे ।

३ साउन २०७६ मा त्रिवि सेवा आयोगका रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वको भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरे ।

२६ साउन २०७६ मा आफू भ्रष्टाचारी नभएको सुसाइड नोट लेखेर कलंकी मालपोतका पूर्व कर्मचारी हरिप्रसाद आचार्यले उदयपुरमा आत्महत्या गरे । उनले तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरेको २०० वर्ष आयु होस् भनी सुसाइड नोट लेखेका थिए ।

२० असोज २०७८ मा नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीले चाबहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरको छतबाट हाम फालेर आत्महत्या गरे । उनको परिवारले आत्महत्या नभई दुर्घटनावश खसेको दाबी गरेको थियो । चर्तुवेदीमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

आत्महत्याको कारण
आत्महत्याको मुख्य कारण नै सामाजिक परिस्थिति हो । त्यो पेशा, क्षेत्र, परिवार जुनसुकैसँग सम्बन्धित हुनसक्छ । नेपाली समाज व्यक्तिवादतर्फ लम्कदैछ । सामुदायिक भावना कमजोर हुँदैछ । सामूहिक सचेतनामा असर परेको छ । परम्परागत संस्थाहरू बिघटन हुँदैछन् । परिवार संयुक्तबाट एकात्मकतर्फ लम्कदैछ । बलियो समुदायको समाजसँग साइनो कमजोर हुँदैछ । एक अर्काप्रति सहयोगी भावनामा कमी आइसक्यो । आपसी सहयोग र समन्वयको अभावमा व्यक्ति बेसहारा जस्तै बन्दा आत्महत्याको सम्भावना बढेको छ । विशेषगरी शहर र शहरोन्मुख क्षेत्रमा समस्या छ ।

देशमा बेरोजगरी बढ्दो छ । अर्कोतर्फ उपभोक्तावादले जरो गाडिसक्यो । कमाई र आवश्यकताबीच तारताम्य मिलेको छैन ।सामाजिक सम्बन्धहरूको परिभाषा बदलिदैछ । व्यक्ति र समाज त्यस अनुकूल चल्न कठिन भइरहेछ । थोरै व्यक्तिमात्र उपभोक्तावादबाट लाभ लिइरहेका छन् । धेरै व्यक्तिहरू आवश्यकता पूरा गर्न नसकेर विचलित छन् । आफ्नो निकटका साथी, छरछिमेक र समुदायका सामु कुनैपनि व्यक्ति कमजोर बनेर रहन गा¥हो मान्छ । मानवीय स्वभाव नै हो कि ऊ अरूभन्दा बलियो बन्न चाहन्छ । छेउछाउका सामु कमजोर बन्न वाध्य हुनुपर्दा आवश्यकता पूर्तिका लागि अपराधमा होमिन पुग्छ । आत्महत्याको बाटो पनि रोज्नसक्छ । सन् २०१२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको अध्ययनले छिमेकभन्दा कम आम्दानी भएकाहरूमा आत्महत्या बढी देखियो । जुन आर्थिक विभेदले आत्महत्यातर्फ धकेलेको सान्दर्भिक तथ्य हो ।

गरिबहरू धनीभन्दा पीडा खप्न सक्दैनन् भन्ने तर्क गलत सावित भइसकेको छ । बरू धनीहरू पीडा खप्न सक्दैनन् । नेपालमा धनीले बढी आत्महत्या गर्छ या गरिबले गरेको छ अध्ययनको विषय हुनसक्छ । विदेशमा गरिएका अध्ययनहरूले उच्च वर्गकाहरूले बढी आत्महत्या गरेको देखाएको छ । गरिबी र आत्महत्यालाई एक अर्कासँग जोडेर हेर्न सकिएला । तर, गरिबी नै आत्महत्याको कारण हो भन्ने तर्कहरू सतही छन् । नेपाल प्रहरीको अधिकारीले अधिकांश गरिब र आर्थिक कारणले आत्महत्या भएको तर्क गरेका छन् । उच्च वर्ग थोरै हुने भएकाले तिनको संख्या कम हुन्छ । उच्च वर्गकाको कुल जनसंख्या र आत्महत्याको कुल संख्यालाई जोडेर हेर्दा औसतमा तथ्याङ्क पत्ता लाग्छ । अर्को महत्वपूर्ण विषय भनेको मध्यम वर्गकाहरूमा हुने आत्महत्या हो । जुन प्रहरीकोमा नपुग्न पनि सक्छ । पुगेपनि त्यत्ति हल्लाखल्ला हुन्न ।

कि त उच्च वर्गको व्यक्तिको आत्महत्या चर्चामा आउँछ कि त गरिबले गरेको आत्महत्या चर्चामा आउँछ । मध्यमवर्गको खासै चर्चामा आउँदैन । प्रहरी तथ्याङ्कमा समेत शंका गर्नुपर्ने ठाउँ छ । आत्महत्याका सबै घटना उजूरीमा पर्दैन । प्रहरी कहाँ प्राप्त तथ्याङ्क नै सबथोक हुनसक्दैन । तैपनि ती तथ्याङ्कहरू उपयोगी र बढी विश्वसनीय हुन्छन् । प्राप्त तथ्याङ्कलाई बढी विश्वसनीय बनाउनका लागि आलोचना र त्रुटीहरू औलाउन जरूरी छ । गरिबको झुपडीलाई आत्महत्या बढी हुने स्थानका रूपमा परिभाषित गर्दा उनीहरूप्रति सहानुभूती बढ्ला । तर समाजको वास्तविकता लुक्छ । गरिबले होइन धनीले बढी आत्महत्या गर्छ । गरिबीले मात्र होइन व्यक्तिलाई विचलित तुल्याउने सामाजिक परिवेशहरूले आत्महत्यातर्फ धकेल्छ ।

लोकलाज हुने घटनाले पनि व्यक्तिलाई आत्महत्यातर्फ धकेल्छ । भ्रष्टाचारको आरोप लागेपछि कतिपय निलम्बित वा पूर्वकर्मचारीले आत्महत्या गरेको तथ्यांक देखिन्छ । उनीहरुले सुसाइड नोटमा समेत बेइज्जतीको कारण आत्महत्या गरेको उल्लेख गर्ने गरेका छन् । आत्महत्या गर्नेहरु आर्थिक रुपमा सम्पन्न नै देखिन्छन् । गरिबको संख्या नै बढी हुन्छ । यसकारण संख्यामा पनि उनीहरु आत्महत्या गर्नेमा बढी हुनसक्छन् । तर, कम संख्याका भएपनि धनीको आत्महत्या दर बढी भएको पाइन्छ । यसले पनि गरिबभन्दा धनीले बढी आत्महत्या गर्ने गरेको पुष्टि हुनछ ।



प्रतिक्रिया दिनुहोस्