Logo

यती एअरलाइन्सले डोमेस्टिकतर्फ प्रयोगमा ल्यायो इलेक्ट्रोनिक ब्यागेज ट्याग



काठमाडौं, ९ पुस । यती एअरलाइन्सले आन्तरिक वायुसेवामा इलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ। आजदेखि यती एअरलाइन्समार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सर–सामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ।

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरुले यसको प्रयोग पहिलेदेखि नै गर्दै आए पनि आन्तरिक वायुसेवामा यतीले पहिलोपटक यसको प्रयोग गरेको कम्पनीको दाबी छ। पहिलो लकडाउनपछि इलेक्ट्रोनिक बोर्डिङ पासको सुरुआत गरेको यतीले हाल ब्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको बताएको छ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले भने-‘यती एअरलाइन्स यात्रु तथा यात्रुको सर–सामानको सुरक्षामा सधैँ संबेदनशील छ, हाम्रो सुरक्षात्मक प्रणालिलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरुप यसको सुरुआत भएको हो। यसको प्रयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा संचालनमा मद्धत पुग्छ ।’

उनका अनुसार पहिलो चरणमा परीक्षणका लागि काठमाडौँबाट जाने लगेज तथा सर–सामानमा यसको प्रयोग गरिनेछ। आवश्यक संसोधन तथा परिमार्जनपछि यती एअरलाइन्स तथा तारा एअरका सम्पूर्ण उडान हुने क्षेत्रमा प्रयोग गरिनेछ।

यसको प्रयोगले यात्रु तथा सरसामानको रिकन्सिलियसन (मेलमिलाप) गर्न अझ सहज हुने तथा सर–सामान हराउने तथा छुट्ने समस्या कम हुने बर्तौलाको भनाई छ। इलेक्ट्रोनिक ट्यागमा गन्तव्य स्थान, फ्लाइट नं, ट्याग नं, यात्रुको नाम तथा बारकोड उल्लेख हुनेछ। यात्रु चेकइन गर्दा यात्रुको बोर्डिङ पाससँगै सामानको ट्याग पनी कम्प्युटर प्रणालिबाट प्रिन्ट आउने छ।

बारकोड रिडरमार्फत चेक गरेर मात्र वायुयानमा लोड गर्दा अतिरिक्त सामान वायुयानमा नगई चेक इन गरेका सामान मात्र गन्तब्यमा पुग्ने हुँदा यात्रु सुरक्षामा मद्दत पुग्ने एअरलाइन्सले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्