Logo

प्रचण्डको ‘करिश्मा’ कहिलेसम्म ?



काठमाडौं, ९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कारणले गणतन्त्र, धर्मनीरपेक्ष र संघीयतामा देश गएको सन्देशहरु दिइरहेका छन् । उनले यो व्यवस्थामाथि चुनौती बढेको भन्दै जोगाउने जिम्मेवारी पनि आफ्नै भएको बताइरहेका छन् ।

प्रचण्डले पछिल्लो समय गणतन्त्रमाथि षड्यन्त्र भएको बोलिरहेका छन् । समकालिन नेताहरुमा आफू नै मुख्य भएको सन्देश पनि दिने गरेका छन् । शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको र त्यसले देशमा परिवर्तनको मार्ग कोरेको उनको भनाई छ । कोइरालाको निधनपछि आफू मात्र रहेको भन्दै प्रचण्डले जिम्मा आफ्नो काँधमा आएको तर्क गर्दै आएका छन् ।

प्रचण्डले अहिलेको व्यवस्था ल्याउने आफू भएको जिकिर गर्दै राजनीतिमा आफ्नो उपयोगिता अझै रहेको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रमाणित गर्न खोजेको देखिन्छ । उनले माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरण नगर्ने स्पष्ट पारिसकेका छन् । अझै पनि आफूले राजनीतिमा करिश्मा देखाउन सक्ने उनको सन्देश छ ।

प्रचण्डले पार्टी बनाउँदै बिघटन गर्दै बढेका छन् । उनले जनयुद्ध गरेको माओवादी समेत बिघटन गरेर नेकपा निर्माणमा भूमिका खेले । तर, माओवादी फेरि ब्युँतिएको छ । जनयुद्धमा साथ भएकाहरुले छाड्दै गए । जनयुद्धमा साथ रहेका आधा जति नेताहरुले छाड्दा पनि प्रचण्ड रणनीतिक चार्तुयताका साथ बढ्ने तयारीमा देखिन्छन् ।

पहिलो संविधानसभामा अभूतपूर्व सफलता हासिल गरेका प्रचण्ड दोस्रोमा नराम्ररी खुम्चन पुगे । २०७४ को आमनिर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर सुधार गरे । स्थानीय चुनावमा विभिन्न दलसँग भित्री गठबन्धन गरेर लाभ लिन सके । रेनु दाहाललाई चितवन महानगरपालिकाको मेयरमा जिताउन प्रचण्डकै रणनीतिले भूमिका खेल्यो ।

गुम्दै गएको शक्तिलाई पुनः फर्काउने क्रममा प्रचण्डसामु एमाले अध्यक्ष केपी शर्मा ओली चुनौती बने । नेकपा फुट्यो । पछि एमाले पनि फुट्यो । अहिले प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता गठबन्धन बनाउन सकेका छन् । देउवामार्फत् ओलीलाई कमजोर पार्ने प्रचण्डको रणनीति देखिन्छ । यो कतिपय अवस्थामा सफल पनि देखिएको छ । तर, उनी अझै पूर्ण सफल भइसकेका छैनन् ।

अबको चुनावमा पूर्वमाओवादी एक बनाउने देखि नेकपा एकीकृत समाजवादीसँग समेत गठबन्धन बनाएर बढ्ने प्रचण्डको रणनीति देखिन्छ । त्यसको तयारी पनि गरिसकेका छन् । प्रचण्डले जहिले पनि आश्चर्यजनक निर्णयहरु गर्दै शक्ति आर्जन गर्ने गरेका छन् । अबको आमनिर्वाचनसम्म उनको रणनीति कत्तिको सफल हुने चासोको विषय बनेको छ ।

सत्ता गठबन्धन धरापमा परेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले गठबन्धन टुट्न सक्ने देखिदैछ । तर, प्रचण्डले एमसीसी यथास्थितिमा पास गर्न नदिने स्पष्ट पारिसकेका छन् । एमसीसीकै कारण गठबन्धन नटुट्ने र टुट्न नदिने ठोकुवा गरेका छ । तर, यसपटक प्रचण्डसामु निकै ठूलो चुनौती तेर्सिएको छ ।

प्रचण्डसँग जोखिम मोल्ने साहस देखि रणनीतिक चार्तुयता छ । समकालिन नेताहरुमध्ये प्रचण्ड रणनीतिमा अगाडि छन् । उनीसँग करिश्मा पनि छ । यो करिश्मा कहिलेसम्म रहने हो ? उनको रणनीतिक चार्तुयताले कहिलेसम्म काम गर्ने हो ? प्रतिक्षाको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्