Logo

माओवादी राष्ट्रिय सम्मेलन : माओवादीका दर्जनभन्दा बढी संस्थापक नेता जो प्रज्ञा भवनमा  देखिँदैनन्



काठमाडौं, १० पुस :  ११–१३ पुसमा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजना हुने नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा माओवादी सशस्त्र युद्धकालका चर्चित तथा संस्थापक नेताहरू भने प्रतिनिधिका रुपमा अनुपस्थित हुने भएका छन् ।

माओवादी शक्तिको मूलधार नेतृत्व गरिरहेका प्रचण्डलाई उनका राजनीतिक गुरु मोहन वैैद्यदेखि डा. बाबुराम भट्टराईसमेतले शान्ति प्रक्रियामा आएपछि छाडेपछि संस्थापक ३५ मध्ये झन्डै आधा संस्थापक प्रज्ञा भवनमा देखिने छैनन् । १० बर्षे सशस्त्र युद्धलाई नेतृत्व गरेका संस्थापक र चर्चित नेता अनुपस्थित हुने प्रज्ञा भवनमा अध्यक्ष प्रचण्डसहित संस्थापक समुहका सिमित नेताको उपस्थितमा सम्मेलन सञ्चालन हुनेछ ।

तत्कालिन नेकपा माओवादीका संस्थापक मोहन बैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, हरिभक्त कडेँल, धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा, दिनेश शर्मा, रविन्द्र श्रेष्ठलगायत दर्जनभन्दा बढी नेता सम्मेलनमा प्रतिनिधिको रुपमा नदेखिनेको सुचीमा छन् ।

प्रचण्ड नेतृत्वको माओवादी परित्याग गरी वैद्य र गजुरेललगायतले नेकपा (क्रान्तिकारी माओवादी) गठन गरेका छन् । जसमा माओवादी संस्थापक हरिभक्त कडेँल र दिनेश शर्मालगायत नेता छन् । अध्यक्ष प्रचण्डले प्रज्ञा भवनमा माओवादी सम्मेलनको उद्घाटन गर्दा सो समूह कुपोन्डलस्थित माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा व्यस्त हुने छन् ।

प्रचण्ड नेतृत्वको माओवादी परित्याग गरेका भट्टराई नयाँ शक्ति गठन गरेर संविधान जारी भएलगत्तै बाहिरिए । उनी अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)का संघीय परिषद अध्यक्ष छन् । माओवादी नै परित्याग गरेका भट्टराईले खोलेको नयाँ शक्ति पार्टीलाई एकीकरणमार्फत तराई मधेस केन्द्रित दलसँग विलय गराएका हुन् ।

माओवादीका संस्थापकमध्ये टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएलगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् । हाल रायमाझी र भट्ट एमाले सचिव छन् भने थापा स्थायी कमिटी सदस्यको जिम्मेवारीमा आईपुगेका छन् ।

पहिलो संविधान सभा विघटनपछि प्रचण्ड नेतृत्वको माओवादी परित्याग गरी वैद्य समूहतिर लागेका नेत्रविक्रम चन्दले वैद्यलाईसमेत छाडेर नयाँ पार्टी बनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका चन्दसँग माओवादी संस्थापनका थप दुई नेता धर्मेन्द्र बाँस्तोला र खड्कबहादुर विश्वकर्मा छन् । सो समूह प्रचण्ड नेतृत्वको माओवादीसँग सबन्धबिच्छेदको अवस्थामा छन् ।

माओवादी पार्टीका संस्थापकमध्ये पोष्टबहादुर बोगटीको देहान्त भइसकेको छ भने रविन्द्र श्रेष्ठ सक्रिय राजनीतिमाा छैनन् । यस्तै, नन्दकिशोर पुन उपराष्ट्रपति र अग्निप्रसाद सापकोटा सभामुखको जिम्मेवारीमा भएकाले प्रज्ञा भवनमा उनीहरूकोसमेत उपस्थिति देखिने छैन् । जसकारण पनि प्रचण्ड नेतृत्वको माओवादीको राष्ट्रिय सम्मेलनमा झन्डै आधा संस्थापक नेताहरू प्रतिनिधिका रुपमा नदेखिने भएका हुन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्