Logo

प्रचण्डले फेरि चमत्कारिक रुपमा शक्ति आर्जन गर्न सक्ने



काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई करिश्मामयी नेताका रुपमा प्रस्तुत गर्दै आएका छन् । नेपाली राजनीतिको केन्द्रमा रहँदै आएका उनले फेरि शक्ति आर्जन गर्न रणनीतिक चार्तुयता देखाइरहेको खुल्दै गएको छ ।

पहिलो संविधानसभामा चमत्कारिक चुनावी सफलता हासिल गरेका प्रचण्ड प्रधानसेनापति प्रकरणमा चुक्दा नराम्रो धक्का खान पुगे । उनी दोस्रो संविधानसभाको चुनावमा तेस्रो शक्तिका रुपमा खुम्चन पुगे । तर, २०७४ सालको आमनिर्वाचनमा प्रचण्डले रणनीतिक चार्तुयताबाट शक्ति आर्जन गरे । माओवादीलाई तेस्रो ठूलो दल बनाउने सफलता हासिल गर्दा दोस्रो संविधानसभाको चुनावको अवस्थामा निकै सुधार गरे ।

प्रचण्डले एमालेसँग माओवादीको एकताबाट नेकपा एमाले गठन गर्दा निकै शक्तिशाली बन्ने प्रयास गरे । तर, उनलाई केपी शर्मा ओलीले सफल हुन दिएनन् । नेकपा फुटेपछि प्रचण्ड माओवादी केन्द्रका रुपमा पुनः खुम्चिए । तर, उनको साथ पाएका माधव नेपालले एमाले फुटाए ।

आज सम्पादकहरुसँगको अन्र्तक्रियामा प्रचण्डले महत्वपूर्ण खुलासा गरेका छन् । उनले पूर्वमाओवादीबीचको एकतासँगै माधव नेपालसँग पनि एकताका लागि छलफल बढेको खुलाएका हुन् । कम्तिमा चुनावी सहकार्य हुने बताए । बाबुराम भट्टराईलाई मनाउन प्रचण्ड लागिपरेका छन् । उपेन्द्र यादवसँग चुनावी सहकार्यका लागि प्रचण्डले भित्री तयारी गरिसकेका छन् ।

प्रचण्डले आगामी चुनावमा चमत्कारिक शक्ति आर्जन गर्नसक्ने सकेतहरु देखिएको छ । त्यसका लागि उनले एमालेबाहेकको कम्युनिस्ट पार्टीहरुसँग एकता वा चुनावी सहकार्यको तयारी बढाइसकेका छन् । मधेशवादी दलसँग पनि चुनावी गठबन्धन गर्ने भित्री तयारी भइरहेको छ ।

पछिल्लो समय देशभित्र अमेरिकी सहयोगसम्बन्धी एमसीसीको व्यापक विरोध भइरहेको छ । प्रचण्डले त्यसमा राजनीतिक लाभ लिन खोजेका छन् । उनी एमसीसी पारित हुन नदिने पक्षमा छन् । संशोधनविना एमसीसी पारित नहुने स्पष्ट पारेका छन् । यसबाट पनि उनले लोकप्रीयता बटुल्न खोजेको देखिन्छ ।

संवैधानिक निकायमा विगतमा भएका नियुक्तिको खारेजीमा पनि प्रचण्ड सक्रिय देखिन्छन् । यसमा उनी रणनीतिक तरिकाले लागेका छन् । यसमा सफलता हासिल गर्न सके प्रचण्डले ठूलो राजनीतिक लाभ लिन सक्ने देखिन्छ । असफल भएमा पनि उनले राजनीतिक मुद्दा बनाएर अगाडि बढ्ने रणनीति बनाएको देखिन्छ ।

प्रचण्डले चुनाव नजिकिदै गर्दा व्यापक रुपमा शक्ति आर्जन गरिरहेका छन् । माओवादीभित्रको आन्तरिक व्यवस्थापन राष्ट्रिय सम्मेलनमार्फत् गर्दैछन् । उनले विप्लवलाई जोड्ने देखि अन्य कम्युनिस्ट घटकलाई पनि साथमा लिने तयारी गरिरहेका छन् । मधेश केन्द्रित नेता देखि जनजाति नेताहरुलाई पनि साथमा ल्याउन खोजिरहेका छन् । यसरी प्रचण्डले शक्ति आर्जन गर्दै चमत्कारिक सफलता हासिल गर्न सक्ने सम्भावना बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot