Logo

प्रचण्डको पनि विकल्प छ : लेखनाथ न्यौपाने (भिडिओसहित)



नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लेखनाथ न्यौपाने पार्टीमा प्रचण्डको पनि विकल्प रहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । तपाईंहरु माओवादी पार्टीमा अहिलेपनि प्रचण्डको विकल्प छैन् भन्नुहुन्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने–‘दुईकोणबाट हेर्न पर्छ । एउटा समग्र सैद्धान्तिक कोणबाट हेर्नुपर्यो । कुनैपनि चिजको विकल्प हुन्छ । त्यसकारण प्रचण्डको पनि विकल्प छ । तपाईंको पनि विकल्प छ । मेरो पनि विकल्प छ । तर, आजको अवस्थामा व्यबहारिक रुपमा हेर्नुभयो भने कोहि व्यक्तिको विषेश भुमिका हुन्छ । तर, त्यो भुमिकाबाट उ पन्छियो भने चाहीँ समस्याहरु ठिक ढंगबाट अगाडी बढ्न सक्दैनन् कि भन्ने कोणबाट छलफल गर्ने कुरा सहि नै होला । तर, प्रचण्ड रहनुभएन भने माओवादी आन्दोलन रहदैन्, नेपाली समाजको रुपान्तरणको आन्दोलन बाकीँ रहदैन्, उहाँ रहनुभएन भने समग्र कम्युनिष्ट आन्दोलन बाकीँ रहदैन् भन्नेकुरा सैद्धान्तीक हिसाबमा मिल्दैन् नि ।’ प्रस्तुत छ नेता न्यौपानेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन किन महाधिवेशनमा परिणत भयो ?

म यो कुरा बताउने हैसियतमा छैन् । स्थायी समितिले निर्णय गरेको छ भन्ने प्रचारमा आएको छ तर, यो कुरा हामीहरुलाई आधिकारीक रुपमा जानकारी दिइएको छैन् । आजदेखि हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनको तयारी थियो । तर, अहिलेसम्म आयोजक समितिको मिटिङ पनि बसेको छैन् । त्यसो भएको हुनाले म धेरै टिप्पणी त गर्दैन् । महाधिवेशन हो अथवा राष्ट्रिय सम्मेलन हो भन्ने यो कुरा फरक विषयवस्तु हो र यसको गुरुत्व फरक हुन्छ । किनभने हामीले सम्मेलन तोकेको भर्खरै पनि होइन् । अरु पार्टीले पनि रातारात महाधिवेशन गरेका होइनन् । त्यसो गर्दा महाधिवेशनको जुन गुरुत्वका साथ हामीले समग्र विषयवस्तुमा छलफल गर्नुपर्ने हुन्छ । त्यो छलफल पार्टीभित्र मात्र होइन्, जनता, वौद्यिक स्थर, सरोकारवाला र विदेशी भाइचाराहरुसँग पनि छलफल गरेर हामी महाधिवशनमा जानुपर्ने हुन्छ । त्यसकारण महाधिवशनको भोलुम ठूलो हुन्छ भनेको हो मैले । हामीले आजसम्म राष्ट्रिय सम्मेलनको लागि भनेर तल्लो तहमा प्रतिधिनिहरु चुनेका छौं, प्रचार सामाग्री तयारी पारेका छौं, प्रस्ताव तयार पारेका छौं । अनि आज आएर ८ घण्टा अगाडि महाधिवेशन गर्ने भनेर हुन्छ ? मेरो विचारमा यो राम्रो निर्णय होइन् । यसले त्यति राम्रो गर्दैन् । अब नेताहरुले यस विषयमा कसरी सोच्नुभएको छ, त्यो त उहाँहरुले नै बताउनुहोला ।

तपाईंको दलको नेतृत्व किन यस्तो निर्णयमा पुग्यो होला ?

यो कुरा त मलाई कसरी थाहा हुन्छ र ? तपाईंले नेतृत्वलाई नै सोध्नुपर्छ ।

उसोभए अहिलेको अवस्थामा माओवादी केन्द्र कसरी अगाडी बढ्नुपर्छ ?

यसमा दुईवटा कुरा छन्–एउटा भनेको राष्ट्रिय अन्तरविरोधहरु हल गर्नुपर्छ । राजनीतिक पार्टी हुनुको नाताले र अझ समग्र परिवर्तनको आन्दोलनको नेतृत्व गर्ने पार्टी हुनुको नाताले आजको हाम्रो समाजका अन्तरविरोधहरु के हुन् ? हाम्रो मुुलुक र अरु देशहरु बीचमा भएका सम्बन्ध अन्तरविरोधहरु के हुन् ? भन्ने कुरा हामीले विस्तृत रुपमा छलफल गर्नुपर्छ । छलफल गरेरमात्र पुग्दैन्, बहसमार्फत एउटा निश्कर्ष निकाल्नुपर्छ । मैले यसो किन भनेको भने नेपाली समाजका अन्तरविरोधहरु माक्र्सले त्यतिबेला यूरोपकेन्द्रीत वर्ग विश्लेषण गरेको जस्तो हुने कुरा नै भएन । दोस्रो कुरा पुस्पलालको नेतृत्वमा छ सालमा कम्यूनिष्ट पार्टी स्थापना हुँदा नेपाली समाजका अन्तरविरोधहरु जे थिए, त्यो आजको दिनसम्म जस्ताका त्यस्तै हुने कुरा पनि भएन । हामीले २०५२ सालमा जनयुद्ध सुरु गर्दा जुन नेपाली समाजको वर्ग विश्लेषण गरेका थियौं र त्यही आधारमा हामीले आन्दोलनको नेतृत्व गर्ने भनेका थियौं त्यो भन्दापनि धेरै परिवर्तन भइसक्यो । त्यसो भएको हुँदा माओवादी पार्टीको नेतृत्वमा हाम्रो समाजको अन्तरविरोधका विषयमा छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने आवस्यकता रहेको छ ।

तपाईंले यसो भन्दै गर्दा माओवादीको नेतृत्व कहाँ चुकेको हो ?

नेतृत्व चुक्ने कुरा दोस्रो हो । हामीले ठिक ढंगको विचार र कार्यदिशा बनाएनौं अनि ठिक ढंगको कार्यक्रम बनाएनौं भने नेतामात्र होइन् जनता, कार्यकर्ता मुलुकै चुक्छ नि ।

त्यसोभए माओवादी केन्द्रको नीति र कार्यक्रम नै कमजोर छन् भन्न खोज्नुभएको हो ?

त्यही त मैले तपाईंलाई के भन्दै छु भने हाम्रो नेतृत्वमा माओवादी जनयुद्ध र जनाआन्दोलनसहित केही राजनीतिक उपलब्धिहरु हाँसिल गर्यौं । तर, जुन राजनीतिक उपलब्धि हाँसिल गरेका छौं, जति मात्रामा हासिल गरेका छौं । त्यो चाही ठूलाबढाहरुको मात्रै परिवर्तन भयो । तलको जनताको जनजिवनलाई परिवर्तन गर्ने, उनीहरुलाई आयआर्जन र आर्थिक गतिविधिसँग जोड्ने खालको पुरानो राज्यसत्ताको उत्पादन सम्धन्ध भन्दा नयाँ परिवर्तित राज्यको उत्पादन सम्बन्धले हामीलाई अलिकति माथी उठायो भन्ने ठाउँमा त हामीले नेपाली समाजलाई पुर्याउन सकेनौं नि । त्यसैले नेपाली समाजको एउटा अन्तरविरोध के हो भने गरिबहरु गरिब हुँदै जाने र धनिहरु धनि हुँदै जाने । धेरै जनता गरिब हुने र थोरै मान्छले मुलुकको हिस्सा कब्जा गर्दै जाने जुन अन्तरविरोध छ । यसको हल हामीले जहिलेसम्म गर्न सक्दैनौं तबसम्म नेपाली समाजको वर्ग अन्तरविरोधको हल हुनसक्दैन् । हामी सफल पनि हुँदेनौ । त्यसैले मैले भनेको पहिलो कुरा के हो भने–नेपाली समाजका अन्तरविरोधहरु आजको समयमा गहिरो गरि अध्ययन गर्नुपर्यो ।

आजसम्म पार्टीमा यसबारे किन छलफल गर्न सक्नुभएन ? तपाईं कहाँ हुनुहुन्थ्यो ? युवा पुस्ता किन चुप लागेर बसेको छ ?

होइन्, व्यक्तिविषेशको कुरा दोस्रो हो । कम्युनिष्ट आन्दोलनमा हामीले के भन्छौं भने क्षमताहरुको केन्द्रीकरण र सामूहि नेतृत्वको अभ्यास हाम्रो हो । हिरोइजम कम्युनिष्ट विरोधी चरित्र हो । कम्युनिष्ट विरोधी प्रवृत्ति हो । एउटा बहादुरले, एउटा नायकले अथवा एउटा वीर पुरुषले गरिदिन्छ र अरु चाहीँ राजा÷महाराजाको पालामा जस्तो जय–जय भन्दै हिँड्ने कम्युनिष्ट आन्दोलन होइन् । त्यसले नेपाली समाजको समग्र प्रतिनिधित्व गर्नपनि सक्दैन । त्यसकारण हामीले के भन्यौं भने हरेक मान्छेसँग विशिष्ट क्षमताहरु हुन्छन् तर, एउटै मान्छेसँग सबै क्षमता हुँदैन् । त्यसकारण क्षमताहरुको केन्द्रीयकरण र सामूहिक नेतृत्वको अभ्यासबाट गयो भने मात्रै धेरैभन्दा धेरै समस्याहरु हल गर्नसक्ने संभावना हुन्छ । दोस्रो कुरा हाम्रो नेपाली समाजमा हावा के चलिरहेको छ भने सायद हामी सामन्ती संस्कारबाट आएको हुँनाले होला मुख्य मान्छेले भनेपछि प्रजाहरुले मान्नपर्ने, राम्रो होस अथवा नराम्रो होस मान्नै पर्ने अवस्था रहेको छ तर, कम्युनिष्ट पार्टीमा त्यस्तो हुँदैन् ।

किन हुँदैन ? आजको दिनमा प्रचण्डले जे भन्नुभयो माओवादी केन्द्रमा त्यहिँ हुन्छ होइन् ?

त्यसो हुँदैन् । उहाँ हाम्रो पार्टीको अध्यक्ष हो । तर, उहाँले भनेको चिज निर्विकल्प हो भन्ने कुरा होइन् ।

तर, तपाईंहरु माओवादी पार्टीमा अहिलेपनि प्रचण्डको विकल्प छैन् भन्नुहुन्छ ?

त्यसलाई दुईकोणबाट हेर्न पर्छ । एउटा समग्र सैद्धान्तीक कोणबाट हेर्नपर्यो । कुनैपनि चिजको विकल्प हुन्छ । त्यसकारण प्रचण्डको पनि विकल्प छ । तपाईंको पनि विकल्प छ । मेरो पनि विकल्प छ । तर, आजको अवस्थामा व्यबहारिक रुपमा हेर्नुभयो भने कोहि व्यक्तिको विषेश भुमिका हुन्छ । तर, त्यो भुमिकाबाट उ पन्छियो भने चाहीँ समस्याहरु ठिक ढंगबाट अगाडी बढ्न सक्दैनन् कि भन्ने कोणबाट छलफल गर्ने कुरा सहि नै होला । तर, प्रचण्ड रहनुभएन भने माओवादी आन्दोलन रहदैन्, नेपाली समाजको रुपान्तरणको आन्दोलन बाकीँ रहदैन्, उहाँ रहनुभएन भने समग्र कम्युनिष्ट आन्दोलन बाकीँ रहदैन् भन्नेकुरा सैद्धान्तीक हिसाबमा मिल्दैन् नि ।

उसोभए तपाईंले प्रचण्ड नभएको भएपनि देशमा परिवर्तन हुन्थ्यो भन्नखोज्नुभएको हो ?

एउटा व्यक्ति विशेषले योगदान गर्ने कुुरा, नेतृत्व भएको नाताले त्यसको नेतृत्व गर्ने कुरा हुन्छ । तर, मैले मात्र गरेको भन्न मिल्दैन ।

 



प्रतिक्रिया दिनुहोस्