Logo

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षमा निधन



एजेन्सी, ११ पुस। दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आज (आइतबार) निधन भएको हो ।

उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।अल्पसंख्यक श्वेतहरुबाट दक्षिण अफ्रिकामा हुँदै आएको रंगभेदी शासन विरोधी नेल्सन मण्डेला जतिकै टुटुको आवाजलाई महत्त्वपूर्ण रुपमा लिने गरिएको थियो । रंगभेदी शासनको अन्त्यपछि टुटुलाई सत्य तथा मेलमिलाप आयोगको प्रमुख बनाइएको थियो ।

दक्षिण अफ्रिकाका सबै जातका मानिसले उनलाई राष्ट्रिय आस्थाको रुपमा लिने गरेका थिए । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मण्डेलासहित नेताहरु जेलमा रहेको समयमा टुटुले विभिन्न देशको भ्रमण गर्दै आफ्ना धारणा राख्ने गरेका थिए । चर्चको नेतृत्वमा रहेको भूमिका र नोबेल पुरस्कार प्राप्त गरेपछि उनको रंगभेद विरोधी आवाज विश्वव्यापी भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot