Logo

पोखरा एयरपोर्टको एक्स-रे : कहिले उड्ला अन्तर्राष्ट्रिय हवाईजहाज ?



पोखरा, १२ पुस : क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिभाषित गरिएको पोखराको निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रियस्तरमा वृद्धि भएको छ । आईकाओले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल मात्रै व्यवस्था गरेकोले पोखरा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेको हो ।

स्तर फेरिए पनि थप संरचना बनाइएको भने होइन । २०७३ सालदेखि निर्माण सुरु भएको विमानस्थलबाट तोकिएको समयमै उडान हुने सम्भावना क्षीण हुँदै गएको छ । विमानस्थल आयोजना र राजनीतिक दलहरूले सन् २०२१ को पहिलो दिनदेखि आन्तरिक उडान थाल्ने बताएका थिए । नेपाली नयाँ वर्ष अर्थात् १ वैशाख २०७९ देखि अन्तर्राष्ट्रिय उडान हुने दाबी गरिए पनि निर्माणको गति र सरकारी समन्वय अभावका कारण अझै एक वर्ष धकेलिने अवस्था छ ।

निर्माण कम्पनी सिएएमसीले आउँदो जुलाई अर्थात् असार मध्यसम्म सबै काम सक्ने बताएको छ । कम्पनीकै भनाइमा अब दशैंअघि पोखरा विमानस्थल सरकारलाई हस्तान्तरण हुन सक्दैन । विमानस्थलको काम ९० प्रतिशत सकिएको छ । कोभिडका कारण सम्झौता मितिअगावै सक्ने लक्ष्य पूरा हुन पाएन । विमानस्थलको भित्री काम सकिए पनि यहाँबाट विमान उड्न भने अझै अन्याेल कायम छ । विमानस्थलले विभिन्न १० वटा समस्या अघि सारेको छ, जसले सञ्चालनमा चुनौती खडा गर्ने छ ।

१. ल्यान्डफिल साइट

विमानस्थलमा जहाज आउजाउ गर्नुअघि पोखराको ल्यान्डफिल साइट सार्नुपर्ने पहिलो सर्त छ । पोखरा महानगरपालिकाले तीन ठाउँमा जग्गा खोजेर संघ सरकारसँग जग्गा प्राप्तिका लागि सिफारिस पठाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र २० को सीमानामा पर्ने २३१ रोपनी जग्गालाई पहिलो प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको छ । ल्यान्डफिल साइट इन्चार्ज नेत्र तिमल्सिना भन्छन्, ‘स्थानीयको अवरोध छ । सबैतिरबाट पहल पुग्यो भने त्यही जग्गामा ल्यान्डफिल सार्न उपयुक्त हुन्छ ।’ आइकाओले विमानस्थलबाट १३ किलोमिटर वरिपरि ल्यान्डफिल राख्न नमिल्ने व्यवस्था गरेको छ । पोखराको हालको ल्यान्डफिल उडान रुटमा पर्छ । जहाज उड्दा चरासँग ठोक्किन सक्ने भएकाले साइट सार्न लागिएको हो । तर निकै ढिलो भइसकेको छ । सजिलै काम भए पनि ल्यान्डफिल सार्न आधा वर्षभन्दा बढी लाग्छ ।

२. सुरक्षा व्यवस्था

अहिलेसम्म विमानस्थलको सुरक्षा कसले गर्ने र कति फौज राख्ने भन्ने टुंगो थिएन । बल्ल एउटा खाका बनेको छः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि १५० प्रहरी र दुई सयजना आर्मी खटिने छन् । यहाँ सुरक्षाका लागि खटिने प्रहरी र आर्मीको स्थायी आवासका लागि संरचना बनेको छैन । जग्गा छुट्याइए पनि भौतिक संरचना नहुँदा सुरक्षामा समस्या पर्न सक्छ । विमानस्थलले भवन निर्माणका लागि संघ सरकारसँग पैसा मागेकोमा बजेट नपाएको आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् । भवन बनाउन कम्तिमा एक वर्ष लाग्छ ।

३. डाँडा कटान

विमानस्थलको पूर्वपट्टि पोखरा-२६ मा अग्लो डाँडा छ । रिठ्ठेपानीको उक्त डाँडो काटेपछि मात्रै एयरपोर्टमा जहाज झर्न सक्छ । दुई वर्षदेखि डाँडा काट्ने चर्चा थियो । अहिलेसम्म प्रक्रियामै अल्झिएको छ । वन मन्त्रालयले डाँडा काट्न पूरक ईआईए रिपोर्ट बल्ल बनाउन थालेको छ । रिपोर्ट तयार भएर स्विकृति दिएपछि पूरै डाँडा काट्न ६ महिना लाग्ने बताइएको छ ।

४. एयरपोर्ट छिर्ने भलबाढी

पोखराको पूरै भलबाढी थेग्ने ठाउँ हो, अहिलेको निर्माणाधीन एयरपोर्ट । पुस्तौंदेखि खेती गरेर धान खाँदै आएका अहिलेको पुस्ताले एयरपोर्टका लागि जग्गा बेचेका हुन् । यही फाँटमा सिंचाइ गर्न पोखराबाट बृहत् सेती सिंचाइ आयोजना बनाइएको थियो । ६ वटा लाइनबाट सिँचाइ हुँदै आएको यो फाँटका सबै लाइन बीचैमा काटिएका छन् । त्यो पानी जमिनमाथिबाट एयरपोर्टमै छिर्छ । त्यसबाहेक काहुँखोलादेखिको पानीसमेत एयरपोर्ट पुग्छ ।

एकातिर एयरपोर्टको दक्षिणी क्षेत्रमा सिंचाई दिनुपर्ने बाध्यता छ भने अर्कोतिर बढी हुने पानीलाई कटाएर खोलामा झार्नुपर्ने अवस्था छ । भलबाढी कटाउन सिंचाइ डिभिजन कार्यालयले अध्ययन गरेर अनुमानित खर्चसहितको प्रतिवेदन केन्द्रमा पठाएको छ । डिभिजन प्रमुख किरण आचार्यका अनुसार ४० करोडभन्दा बढी लागत लाग्छ । तत्कालै टेन्डर गरेपनि काम पूरा हुन दुई वर्ष लाग्ने उनले सुनाए ।

५. इन्धन डीपो

एयरपोर्ट नयाँ बन्यो भने एयरपोर्टसँगै सुरु हुन्छ, इन्धन भण्डारण केन्द्रको काम । पाँच वर्षदेखि सुरु भएको पोखरा विमानस्थलमा अहिलेसम्म डीपोको काम अघि बढेको छैन । विमानस्थल बनेपछि जहाजमा तेल भर्नुपर्छ । तेल राख्ने ठाउँ एयरपोर्ट भित्र नबन्दा विमानस्थल सञ्चालनमै अन्याेल थपिएको छ । हवाई इन्धनको पोखरा एयरपोर्ट डीपो प्रमुख बाबुराम भट्टले डीपो बनाउन टेन्डर आह्वान भएर अध्ययनकै क्रममा रहेको बताए । ‘अध्ययनको चरणमा छ । अहिले नै ठेक्का लागे पनि ३० महिनामा बल्ल पूरा हुन्छ,’ उनले भने, ‘त्यो अवधिसम्मलाई वैकल्पिक व्यवस्था गर्छौं । तेल ओसार्नका लागि भर्खरै ५४ किलोलिटरको दुईवटा गाडी खरिद गरेका छौं ।’ डीपो नबन्दासम्म पुरानो एयरपोर्टबाट तेल ओसारेर जहाजमा भर्ने उनको भनाइ छ ।

६. विमानस्थल सेवा शुल्क
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूलाई सेवा शुल्क तोकिएको छ । २०६७ सालमा एउटा नियमावली बनेको छ । सोही नियमावलीको आधारमा शुल्क तोकिन्छ । उडान-अवतरण, कोठा बहाल, विमानलाई दिइने छुटलगायत सम्बोधन हुन नसकेका कारण कानुनी रिक्तता हुन सक्ने विज्ञहरू बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारले यसमा पहल गर्न नसकेको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । उनले पोखरा विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्ने विशेष प्याकेज बनाउन आग्रह गरेका छन् ।

७. विद्युतको डेडिकेटेड लाइन

निर्माणाधीन विमानस्थलमा विद्युत आपूर्तिका लागि एउटा मात्रै डेडिकेटेड लाइन छ । विमानस्थलले वैकल्पिक लाइनको माग गरेको छ । वैकल्पिक आपूर्ति नभए सञ्चालनमा कठिनाइ हुने आयोजनाले जनाएको छ । अतिरिक्त फिडर लाइन जडानका लागि विद्युत प्राधिकरणलाई निर्देशन दिन माग गरिएको छ । त्यसका लागि विरौटामा सबस्टेसन बनाएर लाइन विस्तार गर्न सकिने सुझाव दिइएको छ ।

८. विमानस्थल बाहिरको सडक

निर्माणाधीन पोखरा विमानस्थल पृथ्वी राजमार्गमा जोडिन्छ । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन खण्ड निर्माणाधीन छ । चीनकै दुईवटा कम्पनीले यो सडक ठेक्का लिएर काम अघि बढाएका छन् । विमानस्थल चल्नेवित्तिकै फाष्ट ट्रयाक सडकको आवश्यक्ता पर्छ । कम्तीमा विमानस्थलदेखि पोखरा लेकसाइड र भित्री सडकहरुको अवस्था चुस्त हुनुपर्छ । अहिले पोखराको सडक अस्तव्यस्त छ । आयोजनाले विजयपुरदेखि पृथ्वीचोकसम्मको सडक शीघ्र स्तरोन्नति गर्न आग्रह गरेको छ भने विमानस्थल गेटमा अन्डरपास वा ओभरहेड पुलको व्यवस्था गरिदिन भनेको छ । सडकका इन्जिनियर नारायण पौडेलले ठेक्का लागिसकेका कारण निर्माण कम्पनीलाई जवर्जस्ती गर्न नसकिने बताए । ‘आग्रह गर्ने कुरा एउटा भयो । तर गर्नेपर्छ भनेर कर लगाउन सकिँदैन,’ उनले भने ।

९. अध्यागमन, भन्सार र श्रम कार्यालय

जहाज उड्नुअघि अध्यागमन, भन्सार र श्रम कार्यालय बनाईसक्नुपर्छ । अध्यागमन र भन्सार विमानस्थलभित्रै राख्ने तयारी छ भने श्रम कार्यालय पायक पर्ने ठाउँमा विमानस्थल बाहिर राख्न सुझाव दिइएको छ । आवश्यक अनुमति दिन सक्ने अधिकारसहितको कार्यालय स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन आयोजनाले भनेको छ । यसबारे पहल सुरु भएको छैन ।

१०. लामो हवाई रुट

समग्रमा नेपालको हवाई रुट निकै लामो पर्छ । अहिले नेपालमा सिमरालाई हव बनाएर मात्रै जहाज भित्रिन्छन् । अब जनकपुर, भैरहवा र नेपालगन्जबाट पनि भित्र्याउन पहल हुनुपर्ने विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय वायु सेवाको उडान रुट लामो हुँदा खर्च बढ्ने उड्ड्यन कार्यालय पोखराका प्रमुख गौतम बताउँछन् । उनले अहिले नै छिमेकी राष्ट्र भारतसँग एयर रुटबारे पहल गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । यसबारे धेरै छलफल भइसकेको छैन । रुटहरु बढाउन सके कनेक्टिभिटी सस्तो हुन्छ । कम खर्चमा उडान गराउन सक्छ । भैरहवाको समस्या समाधान भए यता पनि सहज हुने पोखरा विमानस्थलले जनाएको छ ।

यति संरचना बनिसकेपछि पनि विमानस्थल सञ्चालनमा अझै धेरै अन्योलता बाँकी हुन्छ । जहाज कहाँ कहाँ उडाउने र कति क्षमताको जहाज उड्ने भन्ने टुंगो लागेको छैन । पोखराको रनवे २५ सय मिटर मात्रै छ । अन्तर्राष्ट्रिय मापदण्डमा रनवे तीन हजार मिटरको हुनुपर्ने व्यवस्था छ । पोखरेलीहरूले नयाँ एयरपोर्ट पनि आन्तरिक उडानमा मात्रै प्रयोग हुनेमा आशंका गरेका छन् । न्युज कारखाना Sketch Photo



प्रतिक्रिया दिनुहोस्