Logo

देउवा-प्रचण्ड एमसीसीको पक्ष-विपक्षमा खुलेपछि सत्ता गठबन्धन धरापमा



काठमाडौं, १२ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसी यथास्थितिमा पारित नहुने बताएका छन् । उनले आज पार्टी महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमसीसी यथास्थितिमा कुनै हालतमा पनि पारित नहुने बताएका हुन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ । यथास्थितिमा कुनै पनि हालतमा पारित हुँदैन ।’

माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्नेमा जोड दिएको भोलिपल्ट प्रचण्डले राजनीतिक प्रतिवेदनमा यथास्थितिमा पारित नहुने उल्लेख गरेका हुन् । देउवाले एमसीसी ‘राष्ट्रघाती भएको देखाइदिन’ चुनौती दिएका थिए । प्रचण्डले भने देउवाको सबै भनाईको प्रशंशा गरेपनि एमसीसीबारे अभिव्यक्तिमा विमति राखेका थिए । त्यसलाई देउवाको व्यक्तिगत विचार भनेका थिए ।

सत्ता गठबन्धनमा रहेका देउवा र प्रचण्डबीच एमसीसीमा विवाद स्पष्ट खुलेको छ । देउवा एमसीसी पारित गरिछाड्ने पक्षमा छन् । प्रचण्ड यथास्थितिमा पारित नगर्ने पक्षमा छन् ।

देउवा र प्रचण्डबीच एमसीसीको मुद्दाले विवाद देखिएपछि नेकपा एमाले सत्ता राजनीतिमा खेलाडीका रुपमा देखापरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्ता गठबन्धनले स्पष्ट पार्नुपर्ने बताएका छन् । संसदमा एमसीसी टेबुल गरेपछि आफूहरुले निर्णय लिने बताइरहेका छन् ।

ओलीले सत्ता गठबन्धन तोडेमा देउवालाई एमसीसी पारित गर्न साथ दिने प्रस्ताव लगेको चर्चा पनि छ । प्रचण्डले यसको खुलासा गरेका हुन् । बरु देउवालाई एकलौटी सरकार चलाएर चुनाव गर्न दिने तर एमसीसी पारित गराएर बढ्ने ओलीको रणनीतिबारे चर्चा छ । यस्तो अवस्था विकास भएमा सत्ता गठबन्धन तोडिन सक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्