Logo

हाइड्रो पावरको पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु



सोलुखुम्बु, पुस १३ । सोलुखुम्बुको पञ्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोसी हाइड्रो पावरमा पाइप पड्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किँदा हाइड्रो पावरमै कार्यरत इन्जिनियरहरू अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा सिराहा औरही गाउँपालिका–२ का २९ वर्षीय महमद जाबेतर राइन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा यो घटना भएको हो । घाइते राइनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot