Logo

अन्तिम संस्कारको रकम कटाएर अक्षयकोष स्थापना



गलेश्वर, १३ पुस: प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम बचत गरी मृतकका नाममा अक्षयकोष स्थापना गरेको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका पाउद्वार स्थायी घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आएका होमप्रसाद तिलिजा (दिपेन) को अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीमार्फत आर्थिक सहयोग सङ्कलन गरी उनको अन्तिम संस्कार गरिएको थियो ।

बेल्जिमय निवासी म्याग्देलीबाट सङ्कलन भएको रकम बचत गरी तिलिजाले अध्यान गरेको विद्यालय पाउद्वार माध्यामिक विद्यालयमा रु दुई लाखको ‘स्वर्गीय होमप्रसाद तिलिजा (दिपेन) स्मृति अक्षयकोष’ स्थापना गरिएको मोना बेल्जिमयका अध्यक्ष रकेन्द्रबहादुर घिमिरेले जानकारी दिए । अक्षयकोषमार्फत वार्षिक रुपमा प्राप्त हुने ब्याजमार्फत सो विद्यालयमा अध्ययनरत गरिब तथा असाहय विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । उनले मोना बेल्जियमले प्रवासमा आपत्विपत्मा परेका म्याग्देलीको उद्धारकार्यमा सहयोग गर्नुको साथै जिल्लामा आर्थिकरुपमा उपचारबाट वञ्चित भएका बिरामीको उपचार र प्राकृतिक विपत्तिबाट पीडित व्यक्तिको व्यवस्थापनमासमेत आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्