Logo

पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता



काठमाडौँ, १३ पुस: विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई श्रीपद भत्ता दिने परम्परालाई निरन्तरता दिइएको छ ।

पूर्वकुमारी नौ जना, पूर्वगणेश सात जना र पूर्वभैरव आठ जनालाई श्रीपद भत्ता दिने व्यवस्था गरिएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । पूर्वकुमारीलाई मासिक रु १५ हजार र पूर्वगणेश एवं भैरवलाई रु १२-१२ हजार भत्ता दिन लागिएको हो । हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक गतिविधिमा सहयोग गरेर योगदान दिएबापत विसं २०६९ देखि सहयोग दिन सुरु गरिएको दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए । सुरुआती चरणमा पूर्वकुमारीलाई मासिक रु १२ हजार र पूर्वगणेश एवं भैरवलाई रु आठ-आठ हजार भत्ता दिने गरिन्थ्यो । आर्थिक वर्ष २०७७-२०७८ देखि सहयोग बढाएर रु १५ हजार र रु १२÷१२ हजार पु¥याएको कार्यक्रम प्रमुख शाक्यले जानकारी दिए ।

इन्द्राजात्रालगायत हनुमानढोका दरबार क्षेत्रमा हुने विभिन्न सांस्कृतिक गतिविधिमा कुमारी, गणेश र भैरवको भूमिका तोकिएको हुन्छ । बहालमा रहेकी कुमारीलाई भने मासिक रु ५० हजार भत्ता दिइन्छ । यसैगरी बहालमा रहेका गणेश र भैरवलाई रु ३०-३० हजार भत्ता दिने गरेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ । पहिले वार्षिक भत्ता एकैपटक दिने गरेकामा कोरोनाकाल पछि भने छ-छ महिनामा दिन थालिएको छ । कोरोनाकालपछि हनुमानढोका दरबार क्षेत्रका पर्यटक काउन्टर बन्द भएपछि आम्दानी नभएर दुई किस्तामा भत्ता दिन थालिएको हो ।

महानगरपालिकासँग ऋण लिएर भए पनि पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता दिने कामलाई निरन्तरता दिइएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले सुनाए । कार्यक्रमको प्रमुख आय स्रोत नै हनुमानढोका क्षेत्रमा आउने पर्यटकको शुल्क हो । विसं २०७६ चैतदेखि पर्यटकका लागि रोक लागेकामा गत साउनदेखि खुला गरिएको थियो ।

हनुमानढोका दरबार क्षेत्रको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि महानगरपालिकाले २०५८ साल भदौ १ गतेदेखि कार्यक्रमको सुरुआत गरेको हो । कार्यक्रमअन्तर्गत महानगरपालिकाका १९, २०, २३ र २४ गरी चार वटा वडामा फैलिएका सम्पदा संरक्षणको काम हुने गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot