Logo

प्रचण्ड अमेरिकाविरुद्ध आक्रामक



काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेपालको शिर्ष नेतामध्ये एक नम्बरको अमेरिकाको विरोधीका रुपमा उभ्याएका छन् । पार्टीको आठौं महाधिवेशनमा राजनीतिक प्रतिवेदनमार्फत् अमेरिकामाथि आक्रमक विषयहरु उल्लेख गरेका छन् ।

प्रचण्डले अमेरिकालाई ‘साम्राज्यवादी’ उल्लेख गरेका छन् । प्रचण्डले अमेरिकामाथि युद्ध थोपर्ने चाहेको आरोप लगाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्ति उदृत गर्दै थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको भनेका छन् । प्रतिवेदनमा भनेका छन्, ‘शीतयुद्धकालिन मानसिकताका साथ चीन र रुससँगको प्रतिष्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ ।’

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथ विभिन्न देशमा सैन्य अखडा बढाउने र सुदृढ गर्ने योजना बनाएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा लेखेका छन्, ‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ ।’

अमेरिकालाई बढी हतियार सैन्य क्षेत्रमा खर्च गर्ने पहिलो नम्बरको देशका रुपमा तथ्यसहित प्रचण्डले उल्लेख गरेका छन् । अमेरिकाबारे प्रतिवेदनमा भनेका छन्,‘आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरुले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार विक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु छन् ।’

प्रचण्डले हतियार र सैन्य क्षेत्रमा बढी खर्च गर्ने देशमा अमेरिकाको नाम पहिलो नम्बरमा राखेका छन् । उसको सैन्य बजेट ६०१ अर्ब डलर उल्लेख छ । अमेरिकामा १४ लाख सेना रहेको, ६८ सय आणविक हतियार, ४४ सय ४८ ट्यांक, १३ हजार ८ सय ९२ सैन्य विमान र ७२ पनडुब्बी रहेको तथ्यांक दिएका छन् ।

यसरी प्रचण्डले आफूलाई अमेरिकाविरुद्ध आक्रामक रुपमा प्रस्तुत गर्दै चीनको घुमाउरो तरिकाले प्रशंशा गरेका छन् । उनले अमेरिकाले चीनविरुद्ध सैन्य साझेदारी गरिरहेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot