सिन्ह्वा, १४ पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताएका छन् । उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
उनले राजधानी सानामा पनि निरन्तर रुपमा हवाई कारबाहीका नाममा हमलाहरु हुने गरेका र यसमा पनि सर्वसाधारण नागरिकहरु नै पर्ने गरेका बताएका छन् । यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा हवाई रुपमा र स्थलगत कारबाही गर्ने गरेको छ । यसमा परेर प्राय हप्तैपिच्छे कैयौँ विद्रोहीहरु मारिने पनि गरेका छन् ।
उक्त सेनाले यमनको दक्षिण पश्चिमी क्षेत्र ताइजमा सोमबार मात्र पनि आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् । गत महिनादेखि यहाँको सो सेनाले उक्त क्षेत्रमा पनि कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।
मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । निरन्तरको यस्तो कारबाहीले मारिबबाट मात्र कम्तीमा ३५ हजार स्थानीय नागरिक भागेर अन्यत्रै पुगेका राष्ट्रसंघका विशेष दूत ह्यान्सले जानकारी दिए । रासस