Logo

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा ‘तमु ल्होसार’ को शुभकामना



काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन् ।

अलग–अलगरूपमा शुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले राष्ट्रिय एकतालाई बलियो अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरु भएको सङ्केत गर्दछ । गुरुङ समुदायले बिहीबार पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन छ ।

सन्देशमा राष्ट्रपतिले मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्दै पर्यटन प्रबद्र्धनमार्फत् आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएकी छन् ।

नेपाली समाज विविधताले भरिएको इन्द्रेणीजस्तै सुन्दर र सौम्य छ भन्दै राष्ट्रपतिले तमु ल्होसारजस्ता पर्वबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास राष्ट्रपतिको विश्वास छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामनामा नेपाली संस्कृति र संस्कारमा आ–आफ्नै विशिष्ट पहिचानले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव कायम गर्ने कुराहरु हाम्रा सांस्कृतिक अभ्यासका असल उदाहरण भएको उल्लेख थरेका छन् ।

उनले गुरुङ्ग समुदायमा मनाइने ल्होसार पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वको रुपमा स्थापित भएको उल्लेख गरेका छन् । कोभिड १९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डहरूको पालना गर्दै ल्होसार पर्व मनाउन पनि गुरुङ समुदायलाई प्रधानमन्त्रीको आग्रह छ ।



प्रतिक्रिया दिनुहोस्