काठमाडौं, १५ पौष । अमेरिकाले एमसीसीबारे छिटो निर्णय लिन नेपाल सरकारमाथि दबाब बढाएको छ । यसका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दौडधूप बढाएका छन् ।
सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीप्रति सकारात्मक नदेखिएपछि बेरीले प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुधबार कार्यकक्षमा भेटेर एमसीसीबारे चासो राखेका हुन् । कार्की अर्थमन्त्री हुँदा ४ वर्ष अघि एमसीसी सम्झौता भएको थियो ।
कार्कीलाई बेरीले भेट्नुमा उनको नेकपा एमालेको नेतृत्वसँगको निकट सम्बन्ध पनि कारण हो । एमसीसीको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न देउवाले कार्कीलाई नै खटाएका छन् । उनले बालकोट पुगेर ओलीसँग पटक पटक भेटवार्ता गरिसकेका छन् ।
माओवादी र नेकपा एस एमसीसी यथास्थितिमा पारित गर्ने पक्षमा छैनन् । देउवा एमसीसी पारित गरिछाड्ने पक्षमा छन् । उनले माओवादीको महाधिवेशनसम्म पर्खने र त्यसपछि अगाडि बढ्ने रणनीति लिएको बुझिएको छ ।
एमसीसीमा प्रचण्ड र माधव नेपाल सहमत नभए देउवा कठोर निर्णय लिने तयारीमा रहेको बुझिएको छ । उनको ध्यान ओलीतर्फ गएको छ । एमसीसी पारित गर्ने शर्तमा देउवा र ओलीबीच गठबन्धन बन्ने सम्भावना विकास भएको छ । अमेरिकी राजदूतले ज्ञानेन्द्रबहादुर कार्कीसँग यही बेलामा भेट्नुले पनि सम्भावनाहरु देखापरेका हुन् ।
ओलीले देउवालाई एकलौटी सरकार चलाउन साथ दिने भन्दै गठबन्धन भत्काउन प्रस्ताव गरेको विषय प्रचण्डले खुलाएका छन् । यसमा पनि एमसीसी पारित सर्तसहित रहेको चर्चा छ ।
एमसीसी पारित नगर्ने स्पष्ट संकेत प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत् गरिसकेका छन् । प्रतिवेदनमा अमेरिकाविरुद्ध प्रचण्ड आक्रामक रुपमा प्रस्तुत गरेका छन् । उसले सैन्य रणनीति अन्तर्गतका गतिविधिहरु बढाएको विषय समावेश गरिएको छ । अमेरिकाले चीनलाई घेर्न भारतसँग सम्बन्ध सुदृढ पारेको समेत राजनीतिक प्रतिवेदनमा प्रचण्डले भनेका छन् ।
प्रचण्ड एमसीसी पारित गर्नुको साटो उल्टो आक्रामक रुपमा देखिएपछि अमेरिकाले पनि नेपाल मामलामा नयाँ रणनीति चाल्न लागेको बुझिएको छ । यसले नेपालको राजनीतिमा नयाँ घटनाक्रम विकास हुने सम्भावना बढेको छ ।-File Photo