Logo

माओवादीमा ‘प्रचण्डपथ ब्युँताउने’ देखि ‘भारतीय विस्तारवाद’ राख्ने कुरा



काठमाडौं, १५ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएको छ । महाधिवेशनमा विधान संशोधन देखि अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि प्रश्नहरु समेत उठाइएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपासँग भविष्यमा हुनसक्ने पार्टी एकताको विषय पनि उठेको छ । त्यसका लागि तिव्र र अग्रिम तयारीबारे नेताहरुले विषय उठाएका छन् ।

विधान संशोधन गरेर वरिष्ठ नेता राख्न सुझाव प्रस्तुत भएको छ । माओवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ ।

प्रतिनिधिहरुले प्रचण्डको राजनीतिक प्रतिवेदनका केही बुँदामा फरक मत राखे । शिर्षक परिवर्तनको सुझाव पनि आयो । कतिपय बुँदामा रहेका शब्दप्रति समेत प्रश्न उठ्यो ।

प्रतिनिधिहरुलाई प्रचण्डले राजनीतिक प्रतिवेदन र विधान गहिरो ढंगले पढ्न भनेका थिए । उनीहरुमध्ये अधिकांशले महत्वपूर्ण मानेका ठाउँहरुमा चिन्ह लगाएर सुझावहरु प्रस्तुत गरेका थिए । यसमा गम्भीर समिक्षा भएको थियो ।

प्रचण्डको प्रस्तावमा भारत र हिन्दुवादीबारे केही नबोलेको भन्दै श्रीकृष्ण अधिकारीले प्रश्न उठाए । उनले ‘भारतीय विस्तारवाद’ लेखिनुपर्ने र ‘हिन्दु अतिवाद’ उल्लेख गरी नेपालमा पारेको असरबारे स्पष्ट पार्नुपर्ने माग गरे ।

गोपाल शर्माले प्रचण्डपथ ब्युँताउनुपर्ने माग गरे । यसलाई छाड्न नहुने भन्दै संश्लेषण गरेर बढ्न माग गरे ।

लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । उनले ८ बुँदे फरक मत राखेका थिए ।

यसअघि नेता राम कार्कीले पूरक प्रस्ताव दर्ता गरेका थिए । उनले संघीयताको अभ्यासमै प्रश्न उठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot