तनहुँ, १५ पुस: दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । त्यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् ।
कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए । सामान्य रोगको उपचारका लागि पनि बाह्य अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
उनले कैदीबन्दी अस्वथ्य हुँदा बाहिर गएर स्वास्थ्य परीक्षण गराउन गाह्रो मान्ने गरेको बताउनुभयो । कैदीबन्दीको स्वास्थ्यपरीक्षण गराउन लैजाँदा हत्कडी लगाएर हिँडाएर लैजानुपर्ने अवस्था रहेकाले चिनेजानेका, आफन्तजन, साथीभाइ भेट हुने हुँदा अप्ठ्यारो मान्ने गरेको उनले जानकारी दिए । “गाडीमा लैजाउ भने सुविधा छैन्, हिँडाएरै लैजानुपर्छ”, उनले भने, “कारागारमै स्वास्थ्यकर्मी हुँदा कैदीबन्दीलाई पनि सहज र कारागार व्यवस्थापनलाई पनि सहज हुन्थ्यो ।” जटिल प्रकृतिका बाहेक अन्य बिरामीको स्वास्थ्यकर्मीले कारागारमा स्वास्थ्यपरीक्षण गरी औषधि दिने व्यवस्था रहेपनि अहिले स–साना रोगका लागि पनि बाहिर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
सो कारागारमा हाल १८ सुरक्षाकर्मी राखिएको बताइएको छ । दमौली कारागारमा हाल कैदी १४४ र थुनुवा ११४ गरी २५८ जना रहेको कारागार प्रशासनले जनाएको छ ।-रासस/File Photo