Logo

पुबुदु भन्छन्– विवाद मिलाउन प्रयास गर्छु, कप्तान परिवर्तनको अधिकार क्यानको हो



काठमाडौं, १५ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान)को रहेको बताउदै आफुले त्यसलाई सम्मान गर्ने बताएका छन् । साथै, उनले विवाद मिलाउन आफुले कोशिस गर्ने बताएका छन् ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि दुई दिन अघि नेपाल आएका उनले आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन् ।

‘मैले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको छु । तर, परिवर्तन गर्ने अधिकार क्यानको हो । अब त्यहिँ नै निर्णय हुनेछ’, उनले भने ।

क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो ।

खेलाडी वर्गिकरणको विषयमा सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।

उनले क्यान र खेलाडी बीचको विवाद सुल्झाउने कोसिसमा पनि आफू अग्रसर हुने बताए । ‘म २÷३ दिनभित्रमा नै खेलाडीसँग बसेर यी कुराहरूको जानकारी लिन्छु । उनीहरूलाई राष्ट्रिय टोलीमा फर्काउन प्रयास गर्नेछु’ उनले भने ।

यस्तै, उनले प्रधानमन्त्री कप, मेयर कपजस्ता घरेलु प्रदर्शन हेर्न आफू उत्साहित रहेको उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्