Logo

अज्ञात समूहले बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनीसहितको इमेल पठाएपछि…



काठमाडौं, पुस १६ । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ ।

अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैङ्कका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए ।

कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो भने राष्ट्र बैङ्कले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो ।

साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताए ।

विश्वमा दिनको ३०औँ हजार ह्याकिङका प्रयास हुने गरेको बताउँदै उनले त्यसकै एउटा प्रयास भएको जनाए । नेपालको बैङ्किङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँदै उनले भने, “निक्षेपकर्ताको रकम बैङ्कमा सुरक्षित छ । बैङ्किङ प्रणाली पनि एकदमै सुरक्षित छ । यसमा कोही डराउनुपर्दैन ।” गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्