Logo

एसईई परीक्षा वैशाखमा गर्ने तयारी



काठमाडौं, पुस १६ । यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३ बाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी वैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी छलफल भइरहेको बताए। उनले भने– ‘कुन मोडलमा कहिलेबाट गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ सरोकारवालासँग अनौपचारिक छलफल गर्दा वैशाखमा परीक्षा लिने विषयमा मन्त्रालयले तयारी गरेको उनको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने परीक्षाको विषयमा छलफल नभएको बताए । उनका अनुसार सोलगायत अन्य विषयमा छलफल गर्न आइतबार बोर्डको बैठक बोलाइएको छ । मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति गरेपछि उनको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो ।

यसअघि, बोर्डका सदस्य सचिव दुर्गा अर्यालसहितको बैठकले एसईई परीक्षाको मिति तय गर्ने विषयमा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको थियो । सो क्रममा प्रअहरूले चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा लिने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए । एक बोर्ड सदस्यका अनुसार एसईई परीक्षा चाँडोमा चैत अन्तिम नभए वैशाख पहिलो साता हुने गरी तयारी भइरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot