काठमाडौं, १६ पौष । आज राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई नेपाली काँग्रेसका तत्कालीन नेता वीपी कोइरालासहितले १६ पौष २०३३ सालमा स्वदेश फर्किएको दिनका रुपमा स्मरणीय दिन । नेपाली काँग्रेसका नेता कार्यकर्ताले आजको दिनलाई महत्वका साथ लिने गरेका छन् ।
काँग्रेसका नेताहरुले आजको दिनमा विभिन्न माध्यमले सन्देश तथा विचारहरु प्रस्तुत गरिरहेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले श्रद्धय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको स्मरण गर्दै यही नीतिको जगमा लोकतन्त्र बहाली हुँदै राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
देउवाले ट्वीटमार्फत् सन्देश दिदै वीपी कोइरालासँगै गणेशमान सिंहको पनि नाम उल्लेख गरेका छन् । उनले राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको महत्वबारे उल्लेख गर्दै सिंहको पनि नाम उल्लेख गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
देउवाले ट्वीट गर्दै भनेका छन्ः २०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो। उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुदै राजनीतिक परिवर्तनन सम्भव भएको हो।