Logo

ललिता निवास प्रकरणः कर्मचारीका ज्वाई देखि सालासालीसम्म फसादमा



काठमाडौं, १६ पौष । किर्ते र कर्तुतले ढिलोचाँडो सताउँछ भन्ने ललिता निवास जग्गा प्रकरणमा देखिएको छ । बालुवाटारको १४३ रोपनी जग्गा प्रकरणमा भूमाफियाले घूसवापत जग्गा नै दिएको खुल्यो । जग्गा उच्च तहका कर्मचारी देखि राजनीतिक दलका नेतासम्मले आफ्नो नाममा राखेनन् ।

कसैले ज्वाईंको नाममा त कसैले सालीको नाममा राखे । आफ्नो पुस्ता बाहिर जग्गा नामशारी गर्दा अख्तियारको आँखा पर्दैन भनेर यसो गरेका थिए । यतिसम्मकी ललिता निवासमा कानूनी सल्लाह दिनेले समेत जग्गा नै लिएका थिए । लहरो तान्दा पहरो गर्जिएको छ । धेरै तथ्यहरु खुल्न थालेको छ ।

कर्मचारीहरुबारे खोजी गर्दा उनीहरुको नाममा सम्पत्ति खासै देखिएन । तर, जब जग्गाधनीहरु र बेचिएका जग्गाबारे खुल्न थाल्यो अनुसन्धान अधिकृतहरु चित खाए । कर्मचारी देखि नेतासम्मका नातेदारको नाममा जग्गा पास गरिएको थियो । ती जग्गाहरु घूसवापतको भएको तथ्य समेत खुलेको छ ।

ललिता निवास जग्गा प्रकरणमा धेरै तथ्य खुलेपछि भ्रष्ट कर्मचारीहरुको वास्तविकता उजागर भएको छ । कर्मचारीले सम्पत्ति आफ्नो वंशज बाहिरका नातेदारको नाममा लुकाएर राख्ने गरेको तथ्य समेत खुलेको छ ।

अहिले जग्गाधनीको पूर्जा बनाएका कतिपय फसेको भन्न थालेका छ । कसैका ससुरा त कसैका भिनाजु कर्मचारी थिए । कसैका आफन्त नेता थिए ।



प्रतिक्रिया दिनुहोस्