Logo

अब डाक्टरलाई नेपालमै इन्टर्नसिप



काठमाडौं, पुस १७ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब कोरोना महामारीका कारण चीन सरकारको छात्रवृत्तिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाइलिङिग्विल (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाको नौ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाको तीन महिना सैद्धान्तिक कक्षा गर्न पाउने भएका छन् ।

यसअघि चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरूले नेपालमा इन्टर्नसिप गर्नको लागि स्वीकृतिको माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्