Logo

काठमाडौँ महानगरपालिकाद्वारा वातावरणीय अध्ययन कार्यविधि स्वीकृत



काठमाडौँ, १७ पुस: काठमाडौँ महानगरपालिकाले सङ्क्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ ।

त्यसैगरी ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२औँ कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा १०औँ नगरसभा यही पुस २८ गते गर्ने निर्णय पनि भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ । यो ऐनसँगै बागमती प्रदेशको कानुन र महानगरपालिकाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो ।

बैठकमा कार्यपालिका सदस्यले सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, खानेपानी र विद्युत् जस्ता भौतिक विकासमा काम गर्ने साझेदारसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, कोभिड भ्याक्सिन खोपको विद्युतीय प्रमाणीकरणको चाप व्यवस्थापन गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली सङ्कलन व्यवस्था गर्नुपर्नेलगायत विषय उठाएका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्