Logo

एमसीसी नेपालको हितमा छ, बाजा बजाएर स्वागत गर्नुपर्छ : चुनारा (भिडिओसहित)



काठमाडौं, १७ पुस । राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एमसीसीले नेपाली जनतालाई समृद्ध बनाउने भन्दै यसलाई नेपाली जनताले बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका हुन् ।

साथै, उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्रचार गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्यन्त्र भएको भन्दै उनले भने,‘नेपालमा जंगलको बाघले खानुभन्दा पहिला मनको बाघले खाने प्रचलन रहेको छ ।’ अमेरिकी जनताले साम्राज्यवाद र सामन्तीको विरुद्ध लडेर लोकतन्त्र प्राप्त गरेको स्मरण गराउदै उनले अमेरिकालाई सामन्ती भन्नु गलत भएको टिप्पणी गरे ।

‘म अमेरिकामा बस्दा महशुस गरेको कुरा के हो भने दुई देशबीच धेरै ठुलो भिन्नता छ । अमेरिकी जनताले सामन्तवादको नाम समेत सुन्न चाहदैनन्’–उनले भने । यस्तै, अमेरिकाले नेपाली जनताको आर्थिकस्तर उन्नत बनाउनको लागि हाइड्रोमा संभावना देखेर सहयोग गर्न लागेको भन्दै उनले एमसीसीलाई विथोल्ने काम कोहीबाट पनि हुन नहुने धारणा राखेका थिए ।

‘विद्युत उत्पादन गरेर विदेशी राष्ट्रहरुलाई बेच्ने हो । भारतले अहिलेको अवस्थामा हामीले उत्पादन गरेको विद्युत किन्न मान्दैन् । तर, अमेरिकाले भनेपछि भारतले पनि किन्दिनँ भनेर भन्न सक्दैन् । त्यसैले हामीले भारतलाई पनि बेच्न सक्छौं’–उनले भने ।

नेपालमा कतिपय राजनीतिक दलका नेताहरु सामाजिक अभियान्ताको नाममा केही फाइदा हुन्छ कि भनेर एमसीसीको विरोधमा लागेको उनको आरोप थियो । ‘अमेरिकी भिसा पाउन मरिहत्ते गर्ने अनि विकास हुँदा किन विरोध गर्ने ?’–उनको प्रश्न थियो ।

‘वि.स. २०५७÷५८ सालमा नेपालका सरकारी बैंकहरु घाटामा गएका थिए । त्योबेला विदेशीहरुले सहयोग गर्छौं भन्दापनि विदेशीले बैंकनै लग्न थाल्यो भन्ने हल्ला गरियो, यस्तै विरोध भएको थियो । तर, आखिरमा उनीहरुले बंैकलाई नाफामा पुर्याएर फिर्ता गएका थिए । त्यसैगरी एमसीसीले पनि नेपाली जनतालाई खुसी बनाउने छ’–उनले भने ।

‘अमेरिकी यस परियोजनामा नेता र कर्मचारीले बाँडेर खान नपाउने भएको हुँदा यस्तो भएको हो । त्यसैले यसलाई संसद्ले अनुमोदन गर्नुपर्छ’–उनले भने ।साथै, उनले बनेपा–बर्दिवासको वीपी राजमार्ग जापानले बनाएको स्मरण गराउदै विदेशी लगानी गर्नुहुँदैन् भन्नु गलत मानसिकता भएको टिप्पणी गरे । यस्तै, उनले एमसीसी पास भए अमेरिकी सेनाले कब्जा गर्छ भन्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै एमसीसी पास नगराउन अन्य कुनै देश पनि लागेको छ कि ? भन्दै आशंका व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्