Logo

सुजाता देउवाको गुडलिष्टमा, सरकारमा सहभागी गराउने



काठमाडौं, १७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सुजाता कोइरालाले लिएको निर्णय धेरैका लागि आश्चर्यजनक थियो । उनले आफ्नै दाजु डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा नसघाई प्रकाशमान सिंहलाई सघाइन् । सिंहकै प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् ।

कोइराला परिवारसँग निकटह कतिपयले सुजाताको कदमलाई रुचाएनन् । तर, उनले लिएको निर्णयले सबैभन्दा फाइदा शेरबहादुर देउवालाई नै भयो । सुजाताले साथ दिएका प्रकाशमान सिंहले दोस्रो चरणको प्रतिष्पर्धामा देउवालाई साथ दिने घोषणा गरे । उक्त घोषणा हुँदा सुजाता पनि चाक्सीबारीमा देउवा र सिंहको बीचमा देखिएकी थिइन् ।

देउवासँग झण्डै आधा घन्टा चाक्सीबारीमा भएको छलफलमा सुजाता पनि सहभागी थिइन् । विश्वस्त स्रोतका अनुसार देउवाले सुजाताले समेत साथ दिने भएबाट खुशी व्यक्त गरेका थिए । उनले निकटस्थहरुसँग सुजातामा राजनीतिक सुझबुझ भएको बताएका थिए ।

सुजाताप्रति निकै सकारात्मक बनेका देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनित गरे । आज १० जना केन्द्रीय सदस्य मनोनित गरिएकामध्ये सुजाता पनि परिन् । उनलाई वरियतामा पनि महत्व दिने देउवाको तयारी भएको बुझिएको छ ।

देउवाले सुजातालाई सरकारमा लाने तयारी समेत गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले सुजातालाई मन्त्रीको अफर गरिसकेका छन् । तर, सुजाताले विगतमा उपप्रधानमन्त्री भइसकेको सुनाउँदै हेक्का राख्न भनेकी छिन् । त्यसबारे देउवाले छलफल गरेर निर्णय लिने जवाफ दिएको बुझिएको छ ।

सुजाता पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री हुन् । कोइराला परिवारका उनीसहित तीन सदस्य डा. शेखर कोइराला र डा. सशांक कोइरालामध्ये उमेरले शेखरभन्दा कान्छी र सशांक भन्दा जेठी हुन् । तर, राजनीतिमा सुजाता सबैभन्दा पहिले लागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot