काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य सहमतिबाट चयनको प्रयास जारी राखेको छ । २९९ केन्द्रीय समिति सहमतिबाट चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम प्रयास गरेका छन् । यसका लागि आइतबार १ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गर्न लगाएका छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । यसअघि आइतबार साँढे ११ बजे मतदान हुने तय भएको थियो ।
माओवादीभित्र केन्द्रीय समितिले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । यसकारण केन्द्रीय समितिको निर्वाचनमा सबैको ध्यान गएको छ । तर, प्रचण्डले सहमतिमा पदाधिकारी चयनका लागि केन्द्रीय सदस्यमा पनि सहमति बनाउन खोजेका छन् ।
यसअघि निर्वाचन प्रक्रिया अगाडि बढाउँदै १७ सय ४२ मतदाताको नामावली माओवादीको निर्वाचन आयोगले प्रकाशित गरेको थियो ।