Logo

प्रचण्डले रेनुलाई अगाडि बढाउने



काठमाडौं, १७ पौष । पाकिस्तानमा जुल्फीकर अलि भुट्टोले आफ्ना चार सन्तानमध्ये बेनजिर भुट्टोलाई राजनीतिमा अगाडि बढाएका थिए । जुल्फिकरले भुट्टोले छोरी बेनजिरलाई अमेरिकार बेलायतको शिक्षा दिलाए । प्रधानमन्त्री बनेपछि महत्वपूर्ण जिम्मेवारी दिए । वास्तवमा जुल्फिकरले बेनजिरमा त्यो क्षमता देखेका थिए जुन उनका अन्य तीन सन्तानमा थिएन । जुल्फिकर सही ठहरिए । बेनजिर पाकिस्तानको राजनीतिमा भुट्टो परिवारको विरासत धान्न सफल भइन् । उनी पाकिस्तानको राजनीतिमा छाइन् । प्रधानमन्त्री सम्म बनिन् ।

नेपालमा पनि नेताहरुले आफ्ना सन्तानलाई राजनीतिमा बढाउन खोजेको इतिहास धेरै छ । तर, कतिपयका लागि त्यो प्रत्युत्पादक बनेको छ । कतिपयले सन्तानलाई राजनीतिमा स्थापित गराउन खोज्दा खोज्दै सकेका छैनन् । नेताका सन्तान राजनीतिमा सक्रिय भएको धेरै घटना छन् । तर, रोचक पक्ष यो छ कि २००७ सालयता कुनैपनि प्रधानमन्त्रीका छोराछोरी प्रधानमन्त्री बन्न सकेका छैनन् ।

गिरिजा्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई राजनीतिमा अगाडि बढाए । सुजाता उपप्रधानमन्त्री सम्म बनिन् । तर, पछि उनी विविध कारणले पछि परिन् । वीपी कोइरालाका छोराहरु प्रकाश कोइराला र सशाक कोइराला दुवै राजनीतिमा छन् । प्रकाश पछाडि परिसकेका छन् । सशांक कोइराला अगाडि बढ्न खोज्दै गर्दा फेरि पछि परेको देखिएको छ ।

नेकपा एमालेको राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई राजनीतिमा बढाउन खोजिएको देखिदैछ । तर, भण्डारीले अगाडि बढ्दै गर्दा ठूलो चुनौतीको सामना गरिरहेकी छिन् ।

नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उत्तराधिकारी देखाएका छैनन् । तर, उनले परिवारभित्रैबाट राजनीतिक विरासत विकास गरिरहेको बुझ्न सकिन्छ । प्रचण्डको परिवारमा छोरीहरु रेनु दाहाल र गंगा दाहालका अलावा बुहारी विना मगर राजनीतिमा सक्रिय छन् । प्रचण्डले तीनैजनाको परीक्षण गरिरहेको देख्न सकिन्छ ।

गंगा दाहाल प्रचण्डको सचिवालय हेर्छिन् । उनी राजनीतिमा धेरै अगाडि बढ्ने संकेत गरिरहेकी छैनन् । विना मगर खानेपानी मन्त्री भइसकेकी छिन् । विना प्रत्यक्ष निर्वाचन समेत जित्न सकिन् । उनले महत्वपूर्ण जिम्मेवारीहरु पाइरहेकी छिन् ।

प्रचण्डले परिवारबाट सबैभन्दा बढी ध्यान रेनु दाहालमा दिइरहेका छन् । रेनु भरतपुर महानगरपालिकाकी मेयर हुन् । उनले मेयरका रुपमा महत्वपूर्ण कामहरु पनि गर्न सकिन् । स्वयं प्रचण्डले रेनुको प्रशंशा गर्दै आएका छन् । देशभित्र मात्र नभएर देशबाहिर पनि रेनुको क्षमताको प्रशंशा भइरहेको बताउन पुगे । यसबाट पनि प्रचण्डले रेनुलाई अगाडि बढाउन खोजेको बुझ्न सकिन्छ ।

रेनु बाल्यकालदेखि टाठी थिइन् । पढाईमा पनि अगाडि बढिन् । राजनीतिमा पनि रेनुले क्षमता देखाउन सकेबाट प्रचण्डले उनीबाट धेरै आशा राखेको बुझिएको छ ।
यसपटक माओवादीको नयाँ कमिटिीमा रेनु दाहालले पनि स्थान बनाउने बुझिएको छ । उनले ठूलै छलाङ मार्नसक्ने चर्चा छ । प्रचण्ड परिवारबाट रेनु नै अगाडि बढ्ने संकेतहरु देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्