Logo

मीनेन्द्र रिजालप्रति देउवा किन कठोर बने ?



काठमाडौं, १८ पौष । नेपाली काँग्रेस विभाजित हुँदा शेरबहादुर देउवालाई साथ दिने हस्तीहरुमध्ये डा. मीनेन्द्र रिजाल पनि थिए । रिजालले देउवासँग लामो सहकार्य गरे । काँग्रेस प्रजातान्त्रिकका तर्फबाट गोपालमान श्रेष्ठपछि रिजाललाई देउवाले बढी खटाउँथे ।

काँग्रेस एकीकरण पछि भने रिजाल विस्तारै देउवाबाट टाढिए । देउवासँग नजिक रहेका रिजालका अलावा डा. नारायण खड्का, दिपकुमार उपाध्याय जस्ता नेताहरु तत्कालीन संस्थापन पक्षसँग नजिकिए । रिजाल र खड्का दुवै सुशील कोइरालासँग नजिक रहेर चुनाव लडेका थिए ।

सुशील कोइरालाको निधनपछि पनि रिजाल देउवा इतर समूहमै रहे । डा. नारायण खड्का भने देउवासँग नजिकिए । रिजालले शेखर कोइरालासँग निकटता बढाए । पछिल्लो समय रक्षामन्त्री बन्दा पनि उनी सशांक कोइरालाको सिफारिशमा बनेका थिए । महामन्त्रीमा शेखर कोइराला समूहबाट चुनाव लडेर पराजित भए ।

चुनावमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट तत्काल राजीनामा दिएका थिए । उनलाई देउवाले रक्षामन्त्रीबाट हटाउँदै थिए । पहिल्यै राजीनामा दिएर रणनीतिक फाइदा लिन खोजे ।

देउवाले १७ पौषमा १० जना केन्द्रीय सदस्य मनोनित गर्दा रिजाल परेनन् । जबकि महामन्त्रीमा पराजित देउवा समूहका डा. प्रकाशशरण महत मनोनितमा परे । उपसभापतिमा पराजित सुजाता कोइराला पनि मनोनित भइन् । देउवाले रिजालप्रति कठोर बनेको सन्देश दिन खोजे ।

कुनैबेला आफ्नो समूहका रहेर छाडेपछि रिजालप्रति देउवा विगतमा पनि सकारात्मक थिएनन् । अहिले काँग्रेसभित्र दुई तिहाईको शक्ति आर्जन गरेपछि झन् कठोर बनेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot