Logo

माओवादी महासचिवमा शक्ति बस्नेतले बाजी मार्नसक्ने



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको महासचिवमा तीन मुख्य प्रतिष्पर्धीहरु टसमस भएका छैनन् । वर्षमान पुन, जर्नादन शर्मा र पम्फा भुसाल मुख्य दाबेदार बनेर प्रस्तुत भइरहेका छन् ।

पुन, शर्मा र भुसालले एक अर्कालाई महासचिवमा स्वीकार्ने सम्भावना कमजोर भएको छ । यी तीनैजना टसमस नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौंथो विकल्पतिर हेर्न थालेको बुझिएको छ ।

प्रचण्डले जर्नादन शर्मा, वर्षमान पुन र पम्फा भुसाललाई उपाध्यक्षमा लगेर शक्ति बस्नेतलाई महासचिवमा लाने तयारी गरेका छन् । शर्मा र भुसाल सरकारमा पनि रहेको र पुन अस्वस्थ भई चीनमा उपचार गरिरहेकाले पनि प्रचण्डले भन्ने ठाउँ पाएका छन् ।

तीनैजना नेताले आफ्नै गुट बनाउन थालेको भेउ पाएर प्रचण्ड सतर्क बनेका छन् । उनले बस्नेतलाई बढी विश्वास गर्छन् । यसकारण पनि महासचिवमा बस्नेतलाई बढाउन लागेको बुझिएको छ ।

माओवादीको केन्द्रीय समिति र पदाधिकारी प्रचण्डले आफ्नो चाहना बमोजिम बनाउन लागेका छन् । यसले पनि बस्नेतको सम्भावना बलियो बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot