कास्की, १८ पुस। पोखरा महानगरपालिका-८ जाल्पारोडबाट करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान डिजिटल तराजु, नगद ३८ हजार ३ सय ५० रुपैयाँ, ५ थान मोबाइल र ग.२१ प ३३२३ नम्बरको स्कुटर सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ३२ वर्षीय लाहुरे भन्ने आशिष राना, पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने सोही महानगरपालिका-२१ घर भएका ३९ वर्षीय ध्रुब बहादुर थापा, पोखरा महानगरपालिका-१ बगर बस्ने रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका-८ सभागृह बस्ने स्याङजा भिरकोट नगरपालिका-६ घर भएकी २२ वर्षीया सुस्मिता गुरुङ रहेका छन् ।
उक्त स्थानमा अवैध लागूऔषध ब्राउनसुगर बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा नबिन कुमारको साथबाट ५१ मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको थियो । थप अनुसन्धानको क्रममा सुस्मिताको कोठाभित्र लुकाई राखेको अवस्थामा १२ ग्राम ५० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको हो । उनीहरु उपर जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।-File Photo